भिडियोमा आयो वरपिपलु


हेटौंडा । गायक एवम् मकवानपुरका पत्रकार बलराम पुडासैनीको वरपिपलु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतको भिडियो मुर्चंगा टिभी युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छन्। किसनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय छ। गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन्। गीतमा प्रेमको मधुर सुरुवात र प्रेमसम्बन्ध तथा विछोडपछिको पीडा र आत्मबोधलगायत संवेदनाहरूलाई समेट्ने प्रयास गरिएको छ।

प्रेममा पर्ने युवायुवतीहरूको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतरचढाव र पछुतोको गहिरो अनुभूतिलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। गीतको शब्द र संगीतमा प्रेमले ल्याउने मिठास मात्र होइन, टुटेको सम्बन्धपछि आत्माभित्र बज्ने मौन र तितोलाई झल्काइएको छ। गीतलाई युवापुस्ताको मनोदशा र यथार्थ प्रेमकथाको अभिव्यक्तिका रूपमा चित्रण गरिएको छ। विछोडपछिको पश्चाताप पनि कहिलेकाहीं प्रेमकै गहिरो प्रमाण बन्छ भन्ने सन्देश बोकेको गीतलाई वर्तमान युवापुस्ताको कथाका रूपमा हेरिएको छ।