भक्तपुर ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापनातर्फ लाग्ने बताउनुभएको छ । कडा सुरक्षाबीच एमाले जिल्ला कमिटी भक्तपुरले बिहीबार भक्तपुरको गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन असंंवैधानिक रहेको बताउनुभयो । चुनाव गराउने नियत सरकारको छैन भन्दै उहाँले एमालेसँगै कांग्रेस पनि प्रतिनिधिसभा पुनःस्थापनाको बाटोमा उभिने विश्वास व्यक्त गर्नुभयो ।
लोकतान्त्रिक बाटोमा देशलाई फर्काउन तत्काल संसद् पुनःस्थापना गर्ने माग राखेर अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन भन्दै उहाँले एमाले यही बाटोमा अघि बढ्ने बताउनुभयो । अन्य पार्टीको पनि योभन्दा अर्को बाटो नरहेको बताउँदै ओलीले देशलाई लोकतान्त्रिक बाटोमा नफर्काउँदा असंवैधानिक बाटोलाई मान्यता दिएको ठहर्ने उल्लेख गर्नुभयो ।
संसद् विघटन असंवैधानिक, गलत, गैरकानुनी र देश हितका विरुद्ध रहेको बताउँदै संसद् पुनःस्थनाका लागि फागुन २१ गते पर्खिंदा पछुतोमात्रै हुने उहाँले दाबी गर्नुभयो । ‘कतिपयले फागुन २१ गते चुनाव भएन भने मात्रै संसद् पुनःस्थापनाको माग गरौंला भनिरहेका छन् तर यसका लागि किन पर्खनुप¥यो फागुन २१ गते ?’ –उहाँले भन्नुभयो । चुनाव गर्ने नियत नभएकाले दलसँग संवाद नगर्ने र उल्टै प्रतिशोध साँध्नेतर्फ सरकार उत्रिएको बताउँदै लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएर संविधानलाई ट्रयाकमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
ओलीले पूर्वप्रधानन्यायाधीश वा न्यायाधीश कुनै सरकारी ओहोदामा बस्न नमिल्ने संवैधानिक व्यवस्थाविपरीत अहिले अन्तरिम सरकार बनेको उल्लेख गर्नुभयो । लोकतन्त्रको जग भत्काउने सर्तमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेको भन्दै यो संविधानअनुसार होइन, बलमिच्याइँले बनेको सरकार हो भन्नुभयो । प्रधानमन्त्री बन्न शपथ गरेर संसद् भंगको सिफारिस गर्छु, होइन भने देशमा जेन–जीले आगो लगाउँछन् भनेर कार्की प्रधानमन्त्री बनेको ओलीले बताउनुभयो ।
नेपालको संविधानको व्याख्या गरेर आएकाले पदमा बस्न मिल्दैन भन्ने कार्कीलाई राम्ररी थाहा भएको ओलीले बताउनुभयो । आफूले यसअघि नै यो ‘हाँ–हँु’को सरकार भनेको भन्दै ओलीले सरकार नेपालीको नभएको बताउनुभयो । ‘यो सरकार नेपालीको होइन, अरू कसको हो भने थाहा छैन’ –उहाँले भन्नुभयो । आफूलाई पक्राउ गर्न खोजिएको, पासपोर्ट रोकिएको र उपत्यकाबाहिर जान नदिने सरकारी कदमप्रति आक्रोश व्यक्त गर्दै उहाँले भन्नुभयो– ‘यस्तो तमासा नगर्नु, यस्ता सडक तमासाले डराउने मान्छे होइन, केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ?’
गृहमन्त्री ओमप्रकाश अर्याललाई उत्ताउलो नबन्न र नचम्किन सल्लाह दिँदै ओलीले राजनीति र देश चलाउने कुरा ख्यालठट्टा नभएकाले बुझेर चल्न सुझाव दिनुभयो । ओलीले जेन–जी आन्दोलनका घटनाको छानबिन गर्न अन्तरिम सरकारले गठन गरेको आयोग आफूलाई अमान्य भएको र आयोगको फैसला नमान्ने घोषणा गर्नुभयो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षतामा गठन भएको आयोगको निष्पक्षतामा प्रश्न उठाउँदै ओलीले भन्नुभयो– ‘यो नक्कली आयोग मञ्जुर छैन, आयोगमा बस्न अगाडि कार्कीमाथि गम्भीर अभिव्यक्तिको प्रश्न उठिसके पछाडि सप्रमाण मानिसले ल्याइसके पछि उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्दैन ।’
अध्यक्ष कार्कीका पूर्वअभिव्यक्तिका कारण निष्पक्षतामाथि प्रश्न उठाउँदै उहाँले भन्नभयो– ‘एउटा मान्छे अहिलेको अहिल्यै विरोधीबाट निष्पक्ष भइसक्छ ? उहाँहरू विरोधीबाट निष्पक्ष भइसक्नुभयो ?’ ओलीले आफू सामाजिक सञ्जाललाई नियमन गर्न अगाडि बढे पनि गलत भाष्य बनाइएको गुनासो गर्दै साग र टमाटर उमार्नेले कर तिर्नुपर्ने सामाजिक सञ्जालबाट अर्बौं कमाउनेले कर तिर्न नपर्ने ? भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘व्यापार गरेपछि कर तिर्नुपर्छ । हामीले गर्न खोजेको यही थियो ।’देश बर्बाद बनाउने र अस्तित्वमा प्रश्न उठ्ने अवस्था आएको भन्दै उहाँले एकता चाहिएको तर अहिलेको सरकार एकताको पक्षमा नरहेको बताउनुभयो । जेन–जी नजन्मिँदैदेखि आफूहरूले उनीहरूका मुद्दालाई बोकेको बताउनुभयो । ओलीले एकपटक होइन, १० पटक आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिँदै मन्त्रीहरूको आफ्नै सम्पत्ति पनि छानबिन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले समाज अनेक पुस्ताको संयोजनबाट सञ्चालन हुने बताउँदै जेन–जी युवाको नाममा बाह्य शक्तिले पुस्ता विभाजन गरी अराजकता फैलाएर राष्ट्रिय एकता कमजोर पार्ने प्रयास भएको बताउनुभयो । एमालेका नेता महेश बस्नेतले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा क्षति पु¥याउने तथा अराजकता फैलाउने कार्यमा संलग्न सबै व्यक्तिको छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।











प्रतिक्रिया