नियन्त्रण गर्न १ वर्षमाथिका सबैलाई खोप लगाइने

376
Shares

काठमाडौं ।


गत भदौ महिनादेखि पर्सा र बारामा हैजाको संक्रमण तीव्र रूपमा फैलिएको थियो । अहिलेसम्म १ हजार ६ सय ८५ भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सोही क्षेत्रलाई लक्षित गरी पर्सा र बारा जिल्लामा फैलिएको हैजाको महामारी नियन्त्रणका लागि नेपालले आपतकालीन रूपमा १० लाख १८ हजार १ सय डोज ओरल कोलेरा भ्याक्सिन (ओसीभी) प्राप्त गरेको छ । यो खोप विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र युनिसेफको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी) ले उपलब्ध गराएको हो ।

खोप हस्तान्तरण कार्यक्रम बिहीबार काठमाडौंस्थित टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा आयोजना गरिएको थियो । कार्यक्रममा डब्ल्यूएचओका तर्फबाट डा. बलविन्दर सिंह चावला, युनिसेफका तर्फबाट डा. बुद्धि सेतिवान, तथा विभागका अधिकारीहरूको उपस्थितिमा आईसीजीले खोप स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा बोल्दै महानिर्देशक डा. बाराकोटीले आईसीजीले महत्वपूर्ण समयमा महत्वपूर्ण सहयोग गरेको भन्दै आभार व्यक्त गर्नुभयो । उहाँले खोप अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै यसले महामारी नियन्त्रणमा निर्णायक भूमिका खेल्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप पर्सा जिल्लाका सबै स्थानीय तहमा, साथै बारा जिल्लाका ६ वटा स्थानीय तहमा एक वर्ष उमेरका बालबालिकादेखि माथिका सबै व्यक्तिलाई दिइनेछ । यो आपतकालीन खोप अभियानले महामारीको जोखिममा रहेका जनतालाई प्रत्यक्ष सुरक्षात्मक लाभ पु¥याउने अपेक्षा गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक टंकप्रसाद बाराकोटीले बताउनुभयो ।

उहाँले यो खोप नयाँ नभएर सन् १९९० मा नेपालका काठमाडौं, नवलपरासीलगायतका जिल्लामा लगाइसकिएको र पुरानै खोप भएको र डब्ल्यूएचओले प्रमाणित गरेको खोप हो भन्नुभयो ।गत भाद्र महिनामा फैलिएको हैजा संक्रमितमध्ये अधिकांश १५ देखि २४ वर्ष उमेर समूहका बालबालिका र युवा रहेका छन् । यद्यपि पछिल्ला केही दिनयता नयाँ संक्रमितको संख्या घट्ने क्रममा रहेको भए पनि रोग पूर्ण रूपमा नियन्त्रणमा आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन् ।

स्वास्थ्य सेवा विभागका अनुसार हैजाविरुद्धको आपतकालीन खोप अभियान पर्सामा असोजदेखि कात्तिक महिनाभित्र खोप अभियान सुरु हुने गरी तयारी अन्तिम चरणमा पुगेको छ । विभागको खोप शाखाका प्राविधिक टोलीहरू अहिले नै हैजा प्रभावित जिल्लाहरूमा पुगेर खोप केन्द्र छनोट, जनचेतना अभियान र तालिम तयारी कार्यमा जुटिसकेको छ । पर्सा जिल्लामा १ सय १७ स्वास्थ्य केन्द्रका साथै १ हजार ८ सय ३४ स्वास्थ्य संस्था, स्थानीय टोल तथा घरदैलो अभियानमा ३ हजार ८ सय ७७ टोली ओरल खोप अभियानमा खटिनेछन् । त्यसै गरी बाराका ६ वटा स्थानीय तहमा ६७ स्वास्थ्य केन्द्र र बाहिर १ हजार १ सय ६ स्थानमा २ हजार १ सय ६६ टोली खोप अभियानका लागि खटिने जानकारी गराइयो ।

महानिर्देशक बाराकोटीले एक मात्रा लगाइने यो खोप ८२ प्रतिशत प्रतिरोध क्षमता विकास भएको पहिला नै प्रमाणित भइसकेको र यो खोपले जोखिम धेरै घटाउने बताउनुभयो । डा. विवेककुमार लाल कर्णले यो खोप अभियान सञ्चालन गर्दा एक जनालाई दिइने खोपका लागि २ सय ६० रुपियाँका दरले खर्च हुने र यो ओरल खोप एक व्यक्तिका लागि एउटा हुने हुनाले खेर नजाने पनि बताउनुभयो ।

डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. बलविन्दर सिंह चावलाले ७ सेप्टेम्बरमा खोपको प्रस्ताव जेनेभा पठाएर २५ सेप्टेम्बर १७ दिनमा नेपालमा खोप ल्याइसकेको जानकारी दिनुभयो । उहाँले यो खोप निकै छिटो प्राप्त भएको, खोप विश्व स्वास्थ्य संगठन, युनिसेफ र गाभिको आर्थिक सहयोगमा नेपाल ल्याइएको र यसलाई प्रयोगमा ल्याउन ढिलो गर्न नहुने बताउनुभयो ।
खोप लगाएको १ सातामा प्रतिरक्षा क्षमताको विकास हुने र खोपपछि कसैकसैलाई सामान्य वाकवाकी लाग्ने, पखाला लाग्ने, ज्वरो आउने, आलस्य हुने, मुखमा घाउ आउने, टाउको दुख्ने जस्ता समस्या हुन सक्छ ।