तिहारमा भारतीय सयपत्री प्रतिबन्ध

2.44k
Shares

–ल्याए जफत, धुप बनाउनेलाई निःशुल्क
–यो वर्ष करिब ४० स्थानबाट मात्र बेच्न पाउने
–२९ गतेबाट पुष्प व्यापार मेला
–स्वदेशकै काफी

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले तिहारमा भारतीय सयपत्री फूल प्रतिबन्ध लगाउने भएको छ । स्वदेशको सयपत्री फूलले राजधानीको माग धान्न सक्ने भएपछि तिहारमा भारतीय सयपत्री प्रतिबन्ध लगाउने तयारी गरेको हो । कामपा प्रहरीले तिहारका लागि करिब १५ दिनअघि नै फूल भित्र्याएर कोल्ड स्टोरमा राख्न सक्ने आशंका गर्दै निगरानी बढाएको छ ।

त्यसबाहेक भारतीय फूल भित्रन सक्ने आशंकामा कामपा प्रहरी बलले कडाइ गर्न लागेको हो । कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले अवैध रूपमा भारतीय फूल ल्याए तत्काल जफत गरी धुप कारखानालाई निःशुल्क दिने जानकारी दिनुभयो । कामपा प्रहरी बल र फ्लोरिकल्चर एसोसियसन नेपालका प्रतिनिधिबीच हिजो बिहीबार बसेको बैठकले स्वदेशी सयपत्री फूल बिक्री गर्ने व्यवस्था मिलाएको हो ।

राजधानीबासीलाई स्वदेशकै सयपत्री फूल प्रयोग गर्न प्रोत्साहन गर्न तिहारमा प्रयोग गरिने फूल र माला बेच्न कामपाले विभिन्न डिपार्टमेन्ट स्टोर, मल, तीनकुने र सिफलचौरमा व्यवस्था मिलाउने निर्णय गरेको छ । ‘बिक्री केन्द्रका रूपमा करिब ४० स्थान पहिचान गरेका छौं’ –प्रहरी प्रमुख पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो । उहाँका अनुसार राजधानीको बिगमार्ट, काठमाडांै प्लाजा, अनामनगरको भाटभटेनी, चाबहिलको केएल टावर, तीनकुने र सिफलचौरमा व्यवस्था गरेको छ ।

प्रहरी बल प्रमुख पाण्डेले फूलमालाको अव्यवस्थित व्यापार अन्त्य गर्न निश्चित स्थान तोकेको बताउनुभयो । कामपा प्रहरीको संयोजनमा हिजो बिहीबार फ्लोरीकल्चर एसोसियसन नेपाल, व्यापारी, व्यापार संघ र संगठन, डिपार्टमेन्ट स्टोर, मललगायतका संस्थाले तिहारको तीन दिनसम्म फूल बेच्ने निर्णय गरेको थियो । बैठकले तिहारमा तोकिएको स्थानमा मात्र फूलमालाको व्यापार गर्न दिने सहमति भएको हो ।

एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले तिहारमा स्वदेशी फूलले माग धान्न सक्ने अवस्थामा भारतीय फूल आवश्यक नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– ‘काठमाडौं र त्यस वरपरका जिल्लाका व्यापारीले ल्याएको सयपत्रीले सजिलै माग धान्न सक्छ । तथ्यांकअनुसार राजधानीमा काठमाडौं वरपर, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, तराईका केही जिल्लाबाट राजधानीमा सयपत्री भित्रने गरेको छ । उहाँले ती फूल कहाँ र कसरी बिक्री गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो ।

काठमाडौंमा होलसेलबाहेक साना व्यापारीले ४० स्थानमा बिक्री गर्ने व्यवस्था मिलाएको छ । ‘सार्वजनिक गरेको क्षेत्रमा मात्रै फूलमाला व्यापार गर्न पाइने व्यवस्था गर्नेछौं, त्यसको संयोजन एसोसिएसनले गर्नेछ’ –एसोसिएसनका अध्यक्ष श्रेष्ठको भनाइ थियो । कामपाले आज शुक्रवार सूचना सार्वजनिक भएपछि फूल र माला बिक्री गर्नका लागि व्यवस्थापन गर्ने जानकारी दिनुभयो । सहमति बाहिर गएर तोकिएको स्थान बाहिर व्यापार गरे कारबाही गर्ने महानगर प्रहरीको चेतावनी छ ।

२०११ सालमा पुष्प व्यवसाय सुरु भएको इतिहास रहेको छ । यसपछि पुष्प व्यवसायले विस्तारै गति लिएको थियो । हाल बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरूलगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलँदो अवस्थामा रहेको छ । तथ्यांकअनुसार ५२ जिल्लामा पुष्पखेती हुने गरेको छ ।

यसै गरी कामपाले यो वर्ष पनि प्लास्टिक र प्लास्टिकजन्य फूलमाला पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्लास्टिकको फूल बिक्रीवितरण नियन्त्रण गर्न आजबाट माइकिङ, अनुगमन र अटेर गरे जफत गर्ने निर्णय भएको छ । प्रहरीबल प्रमुख पाण्डेले राजधानीलाई आफ्नै देशको फूलमाला प्रयोग गर्ने महानगरको रूपमा पहिचान गराउन तिहारमा विदेशी फूल पूर्ण प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो ।

यसैबीच हरेक वर्ष आयोजना हुने पुष्प व्यापार मेला असोज २९ गतेबाट सुरु हँुदै छ । एसोसिएसनका अध्यक्ष श्रेष्ठले जावलाखेल फुटबल मैदानमा आयोजना हुन लागेको मेलाको तयारी भइरहेको जानकारी दिनुभयो ।