लुटिएकै हतियार र भागेका कैदी अपराधको स्रोत र अस्थिरताको बीउ

2.91k
Shares

काठमाडौं ।

जेन–जी आन्दोलनको नाममा भएको लुटपाट, आगजनी र राज्यविरुद्धको हिंसात्मक गतिविधिले मुलुकको सुरक्षा संरचनामा गम्भीर प्रभाव पारेको छ । आन्दोलनका क्रममा नेपाल प्रहरीका हातबाट लुटिएका हतियार अहिले राजधानीको प्रमुख सुरक्षा चुनौती बनेका छन् ।

देशभरबाट भागेका कैदी र थुनुवा अझै सरकारी नियन्त्रणमा फर्कन सकेका छैनन् । गृह मन्त्रालयका अनुसार हालसम्म करिब ५ हजार ५ सय कैदी र १ हजार ४ सय थुनुवा फरार अवस्थामा रहेका छन् । यति ठूलो संख्यामा अपराधी र सजाय भोग्नेलाई पुनः नियन्त्रणमा ल्याउन नसक्दा प्रहरी बलमाथि प्रत्यक्ष दबाब परेको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हतियार कति लुटियो भन्ने विषयमा यकिन तथ्यांक आउन बाँकी रहेको बताउनुभयो । ‘हामीले विभिन्न जिल्लाबाट विवरण संकलन गर्दै छौं, तर हालसम्म कति हतियार लुटिएको हो भन्ने निश्चित तथ्यांक आइसकेको छैन’ –उहाँले भन्नुभयो । तर, स्रोतका अनुसार काठमाडौं उपत्यकाबाट मात्रै साना र ठूला गरी करिब १ हजार २ सय हतियार लुटिएको अनुमान गरिएको छ । यिनमा राइफल, पिस्तोल, मेसिनगन, रबर बुलेट गनदेखि टियर ग्यास लन्चरसम्म समावेश छन् । केही हतियार आन्दोलनकारीले आफ्नै प्रयोगका लागि राखेको, केही बेचिएको र केही फ्याँकिएको प्रारम्भिक अनुमान प्रहरीको छ ।

प्रहरीले केही हतियार विभिन्न सूचनाका आधारमा फिर्ता लिन सफल भएको दाबी गरेको छ । तर, धेरैजसो हतियार अझै आन्दोलकारीको कब्जामा नै रहेको जनाइएको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार, राजधानीलाई सुरक्षित बनाउने अभियानमा काठमाडौं प्रहरी निरन्तर लागेको छ, तर लुटिएका हतियार फिर्ता नआएसम्म सुरक्षा चुनौती कायम रहने देखिन्छ । एसएसपी खनालका अनुसार प्रहरीको भौतिक पूर्वाधार नै कमजोर रहेको छ । ‘हाम्रो आफ्नै बस्ने भवन छैन, सवारी साधनको अभाव छ, जसका कारण तत्काल प्रतिक्रिया दिन कठिन हुन्छ । यी सबै कारणले सुरक्षा क्षमतामा असर परेको छ’ – उहाँले भन्नुभयो ।

कारागार तोडफोडपछि भागेका कैदी र थुनुवा अझै सम्पर्कमा आइसकेका छैनन् । यसले आन्तरिक सुरक्षामा थप अनिश्चितता सिर्जना गरेको छ । प्रहरीका अनुसार फरारमध्ये केही विदेश पलायन भएका, केही पहाडी क्षेत्रमा लुकेर बसेका र केही पुनः आपराधिक गतिविधिमा संलग्न भएको आशंका छ । एक वरिष्ठ प्रहरी अधिकृतका शब्दमा, यी फरार कैदीहरू केवल व्यक्तिगत अपराधी होइनन्, तीमध्ये कतिपय राजनीतिक उद्देश्यसहित पुनः संगठित हुँदै छन् । यसले राज्यको स्थायित्वमै चुनौती थपेको छ ।
हालै विभिन्न समूहले पुनः आन्दोलनको तयारी गरिरहेको संकेत भेटिन थालेका छन् । यी समूहले केवल राजनीतिक मागका नाममा होइन, राज्यसत्तामाथि नै नियन्त्रण लिने योजना बुन्दै गरेको सूचनाले सुरक्षा निकायमा चिन्ता बढाएको छ । सुरक्षा अधिकारीहरूको भनाइमा, मुलुक अहिले कमजोर अवस्थामा छ । यस्तो अवस्थामा केही स्वार्थी समूहले पुनः द्वन्द्वको बाटोमा धकेल्ने प्रयास गरिरहेका छन् ।

स्रोतका अनुसार, केही भूमिगत समूह सीमावर्ती क्षेत्र हुँदै हतियार भित्र्याउने तयारीमा रहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको छ । तर, संशाधनको अभाव र राजनीतिक हस्तक्षेपका कारण ती निगरानी पर्याप्त प्रभावकारी हुन नसकेको बताइन्छ । सुरक्षा उच्च स्रोतका अनुसार, यस्ता गम्भीर चुनौतीबीच पनि सरकारले ठोस निर्देशन दिन सकेको छैन । ‘सुरक्षा निकायलाई स्पष्ट नीति र प्राथमिकता आवश्यक छ, तर अहिले राजनीतिक नेतृत्व नै अस्थिर छ । न त सुरक्षा नीतिमा स्पष्टता छ, न समन्वय नै’ –एक वरिष्ठ सुरक्षा अधिकारीले नेपाल समाचारपत्रलाई बताए ।

उनका अनुसार, समयमै नियन्त्रणका उपाय नअपनाए मुलुक पुनः अशान्त र हिंसात्मक अवस्थातर्फ धकेलिन सक्छ । अहिले पनि सरकारले उचित निर्णय गर्न ढिलाइ ग¥यो भने अर्को भयानक द्वन्द्व सिर्जना हुन सक्छ ।

जेन–जी आन्दोलनका नाममा सडकमा उत्रिएका केही समूहलाई राजनीतिक शक्तिले नै आड दिएका आरोप पनि सुरक्षा निकायभित्र सुनिन थालेको छ । दलहरू वर्तमान सरकारविरुद्ध मोर्चाबन्दी सुरु गरिसकेका छन् । आन्दोलनकारी समूहसँगका तिनका सम्बन्धबारे पनि प्रारम्भिक अनुसन्धान भइरहेको बताइएको छ ।

राजधानीका नागरिकमा सुरक्षाको अवस्थाप्रति चिन्ता बढेको छ । पछिल्लो समय राति गोली हान्ने, प्रहरी चौकी आक्रमण गर्ने र सरकारी सम्पत्ति तोडफोड गर्ने धम्की वृद्धि हुँदै गएको छ ।

यस्ता धम्कीले आम नागरिकमा राज्यप्रति अविश्वास बढाएको छ । त्रिपुरेश्वरका एक व्यवसायीले भने– ‘पहिले प्रहरी आउँछ भन्ने विश्वास हुन्थ्यो, अहिले त प्रहरीलाई पनि डर लागेको जस्तो लाग्छ ।’

हालको अवस्था केवल हतियार लुटपाटको परिणाम होइन, दीर्घकालीन सुरक्षा नीतिको असफलता हो । प्रहरीको मनोबल, पूर्वाधार र राजनीतिक स्वायत्तता तीनै क्षेत्रमा सुधार नगरी राजधानीलाई सुरक्षित बनाउन सकिँदैन । अब सरकारको प्राथमिकता फरार कैदी र हतियार फिर्तामात्र होइन, सुरक्षा संयन्त्रलाई स्वतन्त्र र सशक्त बनाउने दिशामा हुनुपर्ने विश्लेषकहरूको सुझाव छ ।
राजधानीको सुरक्षालाई सहज बनाउन राज्यले अब ठोस रणनीति नअपनाए लुटिएका हतियार र भागेका अपराधीहरू केवल अपराधको स्रोतमात्र होइन, अर्को राजनीतिक अस्थिरताको बीउ बन्न सक्छन् ।

सहयोगका लागि अनुरोध


महानगरीय प्रहरी कार्यालय, काठमाडौंले राजधानीलाई सुरक्षित राख्ने जिम्मेवारीमा नागरिकको पनि सक्रिय भूमिका आवश्यक रहेको बताउँदै सहयोगका लागि अनुरोध गरेको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार हालैको आन्दोलनका क्रममा लुटिएका हतियारहरू र कारागारबाट फरार भएका कैदीहरूको खोजीमा प्रहरीले अभियान तीव्र पारेको छ ।

प्रहरीले राजधानीका नागरिकहरूलाई सावधानी अपनाउन र यदि कसैले लुटिएका हतियार आफ्ना छिमेकमा लुकाइराखेको वा फरार कैदीहरू कहीँ कतै आश्रय लिएर बसेको देखेमा तुरुन्त नजिकैको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ ।
एसएसपी खनालका अनुसार यस्ता सूचनादाताको पहिचान गोप्य राखिनेछ । ‘समाज सुरक्षित राख्ने जिम्मेवारी केवल प्रहरीको मात्र होइन, सबै सचेत नागरिकको पनि हो’, उहाँले भन्नुभयो– ‘त्यसैले अपराधीहरू पत्ता लगाउन र नियन्त्रणमा लिन सबैले सहयोग अनिवार्य छ ।’

प्रहरीले हाल राजधानीमा गस्ती, चेकजाँच र निगरानी थप सघन बनाएको जनाएको छ । लुटिएका हतियार फिर्ता ल्याउन र फरार कैदीहरूलाई पक्राउ गर्न विशेष टास्कफोर्स गठन गरिएको पनि प्रहरीले जनाएको छ ।