लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्की प्रधानमन्त्री : अध्यक्ष ओली


भक्तपुर। 

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की लोकतन्त्रको जग भत्काउने सर्तमा प्रधानमन्त्री भएकोले उनीबाट लोकतन्त्रको रक्षाको कुनै सम्भावना नभएको बताएका छन् । 

 भक्तपुरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री हुने बित्तिकै संसद भंग  गर्न पाउनुपर्दछ भन्ने माग राखेर कार्की प्रधानमन्त्री भएकोले उनको नियतमै खोट रहेको बताए । 

 ‘वर्तमान सरकारबाट लोकतन्त्रको रक्षा ? यो हुनै सक्दैन ’ अध्यक्ष ओलीले भने ‘जो संसद विघटन र लोकतन्त्रको जग भत्काउन भनेर प्रधानमन्त्री हुनुभयो उहाँबाट लोकतन्त्तको रक्षा हुने कुरा कल्पना गर्नु हुँदैन ।’

 अध्यक्ष ओलीले वर्तमान सरकार सडकमा तमासा देखाउन उद्धत रहेको बताएका छन् । कहिले केपी ओलीलाई पक्राउ गर्न राती ३ बजेसम्म बैठक गर्ने,कहिले केपी ओलीको पासपोर्ट रोक्ने अनि कहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने यस्तो तमासा नगर्न सरकारलाई उनले चुनौती दिएका छन् । ‘यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ?’ उनले भने । उनले गृहमन्त्रीलाई नउताउलिन चेतावनी दिँदै देश चलाउने कुरा हाँसी मजाक नभएको बताए ।