बीपी राजमार्गको अवरोध हटाइँदै, २ दिनभित्र सञ्चालनको तयारी


काठमाडौं ।

अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएको बीपी राजमार्गको स्थलगत निरीक्षण ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङले गरेका छन्। काभ्रेको चौकीडाँडामा निरीक्षण गर्दै मन्त्री घिसिङले राजमार्ग दुई दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

स्थानीय निकाय र सडक डिभिजनलाई तत्काल स्रोत साधन प्रयोग गरी काम अघि बढाउन निर्देशन दिँदै उनले बेलिब्रिजको अर्डर भइसकेको जानकारी दिए।

राजमार्ग पुनः सञ्चालनका लागि काभ्रे र सिन्धुली खण्डमा डाइभर्सन निर्माण तीव्र गतिमा भइरहेको छ। शनिबार बिहानदेखि यातायात सञ्चालन गर्ने लक्ष्यका साथ स्काभेटर, लोडर र टिपरसहित जनशक्ति खटिएको छ।

बाढीले १९ स्थानमा बनाइएका डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।