तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिनमा तीव्रता

विभिन्न काण्ड मच्च्चाएर करोडौं कमाएको आरोप


–अन्य पूर्वप्रधानमन्त्रीको पनि छानबिन हुने
–पत्ता लाग्ला अकुत सम्पत्ति ?

काठमाडौं ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन प्रक्रियालाई जारी राखेको छ । साथै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अन्य पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईको पनि सम्पत्ति छानबिन गर्ने विषयमा प्रारम्भिक छलफल भइरहेको विभाग स्रोतले जानकारी दिएको छ ।

जेन–जीका केही अगुवाहरूले पूर्वप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गर्दै आइरहेका छन् । जेन–जीकै दबाबका कारण सरकारी स्तरमा यस अघिका सबैजसो प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘पूर्वप्रधामन्त्रीहरू देउवा, प्रचण्ड र ओलीको सम्पत्ति छानबिन सुरु भइसकेको छ र अन्य सबै पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनका बारेमा समेत प्रारम्भिक छलफल भइरहेको छ ।’

पूर्व प्रधानमन्त्रीहरूको पालामा भएका विभिन्न काण्डहरूबाट पूर्वहरूले करोडौं रुपियाँ आर्जन गरेको आरोप लाग्दै आइरहेको छ । ती सबै काण्डका बारेमा समेत छानबिन गर्न नागरिकस्तरबाट माग हँुदै आएको छ ।सरकारले हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतबाट झिकेर अर्थ मन्त्रालय मातहत लगिसकेको छ । हाल अर्थ मन्त्रालय मातहत लगिएपछि अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व केही दिन अघिमात्रै परिवर्तन गरेको छ ।

हाल विभागको महानिर्देशकको रूपमा सहसचिव गजेन्द्रकुमार ठाकुरलाई ल्याइएको छ । ठाकुर यसअघि पनि लामो समयसम्म विभागको निर्देशकको रूपमा कार्यरत रहनुभएको थियो । अर्थ मन्त्रालयले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनमा तीव्रता ल्याउने उद्देश्यका साथ नयाँ महानिर्देशक पठाएको बताइएको छ । विभागले पूर्वप्रधानमन्त्रीहरू सबैको सम्पत्ति छानबिन गर्ने भनिए पनि त्यससम्बन्धी स्पष्ट कार्ययोजना र रणनीति भने बनाउन सकेको छैन ।

विभागले जेन–जी आन्दोलनका क्रममा आगालागी भएका विभिन्न नेताहरूको घरमा भेटिएको पैसाका बारेमा पनि विस्तृत अनुसन्धान थालिरहेको छ । यससँगै विभागले पूर्वप्रधानमन्त्रीहरूका साथै पूर्वप्रधानमन्त्रीका आफन्त तथा निकट रहेकाहरूको सम्पत्तिसमेत छानबिन गर्ने बताइएको छ । विभागले जेन–जी आन्दोलनको क्रममा पैसा भेटिएको भनिएका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता तथा तत्कालीन ऊर्जामन्त्री दिपक खड्काको घरमा पोलिएको अवस्थामा भेटिएको नोटका बारेमा समेत छानबिन गर्दै आइरहेको छ ।

जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठ, नेकपा एमालेका अध्यक्ष ओलीको निवास बालकोट र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पुगेर विभागको टोलीले मुचुल्का उठाएको थियो ।

२४ गतेको आगजनीपछि देउवा, प्रचण्ड र खड्काको घरमा पैसाका थुप्रो जलेको भनेर भिडियो बाहिरिएको थियो । खड्काको घरबाट पैसाका नोटहरू आकाशमा उडाइएको भिडियो पनि बाहिरिएको थियो ।त्यतिखेर विभिन्न भिडियोहरूमा बूढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपियाँ (हजार÷पाँच सयका नोट)का चाङ रहेको र जलेको अवस्थामा थुप्रै नोटहरू भेटिएको सार्वजनिक भएको थियो ।

स्थानीय प्रत्यक्षदर्शीले देउवाको घरमा पैसा राख्ने सुरुङसमेत भेटिएको दाबी गरे पनि पछि देउवाको सचिवालयले त्यो सुरुङ नभई पानी ट्याकी भएको स्पष्टीकरण दिएको थियो । सोही दिन प्रचण्डको निवासमा पैसा राख्न प्रयोग गरिने सेफहरू फोडिएको र डढेको पैसाको चाङ भनेर भिडियो भाइरल बनेका थिए । त्यतिखेर प्रचण्डको घरमा एक युवती र स्थानीयले पैसाको चाङ जलेको र एउटा कोठाभरि पैसा भएको दाबी गरेका थिए । सामाजिक सञ्जालमा जलेको नोटका तस्वीरहरू सार्वजनिक भएका थिए ।