महोत्तरीमा बाढी: २२८ परिवार विस्थापित, राहतको प्रतीक्षामा पीडित


काठमाडौं ।

असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाले महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहहरू डुबानमा परेका छन्। जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, महोत्तरी गाउँपालिका लगायतका क्षेत्रहरूमा बाढी पस्दा २२८ घरपरिवार विस्थापित भएका छन्।

बाढीले अन्नपात, लत्ताकपडा र घरभित्रका सामग्री बगाउँदा जनजीवन कष्टकर बनेको छ। कतिपय अझै छिमेकी, विद्यालय वा सार्वजनिक स्थानमा शरण लिएर बसेका छन्।

स्थानीय तहले विवरण संकलन गरिरहेको जनाएको छ भने राहत वितरणको काम ढिलाइ भएको भन्दै पीडितहरूले गुनासो गरेका छन्। स्थानीय सरकार तथा दातृसंस्थाको समन्वयमा राहत र पुनर्निर्माणको काम अघि बढाइने प्रशासनको भनाइ छ।