–दशैंको भोजलाई राजा ल्याउने कसरत भन्दै सामाजिक सञ्जाल रंगियो
–पूर्वराजा उल्लेख गर्दै जेन–जीको मन जित्ने कसरत
काठमाडौं ।
सोमबार निर्मल निवासमा राजावादीको भीड भएको विषय समाजिक सञ्जालमा व्यापक चर्चा चल्यो । वास्तविकता फरक थियो । त्यस दिन राजावादीहरू होइन, आफन्त र नातेदारको भीडभाड बढ्यो अर्थात् पारिवारिक दशैंभोज थियो ।
दशैंको पूर्णिमामा परिवारसँगै दशैं मनाउने प्रचलनअनुसार त्यस दिन परिवारिक भोज थियो । भोजमा करिब दुई सय आफन्तको उपस्थिति थियो । स्रोतका अनुसार भोजमा पूर्वयुवराज पारस शाहकोे पनि उपस्थिति थियो ।
‘पारिवारिक भोजमा त्यति धेरै देखा नपर्ने पारस शाह सोमबारको पारिवारिक जमघटमा उपस्थित हुनुहुन्थ्यो । अमेरिका रहेका नाति हृदयेन्द्र भने अनुपस्थित थिए । बाँकी सबैजना सरिक भएका थिए’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।
नितान्त पारिवारिक भोज भएकाले कुनै पनि कर्मचारी उपस्थित थिएनन् । निजी सचिव डा. सागर तिमल्सिनालाई समेत बोलाइएको थिएन । भोजमा श्रुतिका श्रीमान् गोरख, दुई छोरी, प्रेरणा र उहाँको परिवार धीरेन्द्रका तीनैजना छोरी र ज्वाइँ, शोभा, शारदालगायत सबै आफन्तको उपस्थिति थियो ।
‘भोजमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज पारस, बुहारी हिमानीको परिवारलाई निम्तो दिइएको थियो । दशैंभोज आयोजना भएको थियो, सामाजिक सञ्जालमा राजा ल्याउने विषयमा छलफल सुरु भयो भन्ने विषयमा प्रचारबाजी भयो, यो गलत काम हो’ –स्रोतले भन्यो । जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा यो वर्ष ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका लगाइदिनुभएको थिएन । उहाँले दशैंको टीका आमा रत्नसँग मात्र लगाउनुभएको थियो । घरको परिवारबाहेक कसैसँग टीका नलगाएको ज्ञानेन्द्रले विगत वर्षजस्तै नातेदारसँग दशैं मनाउनुभएको थियो ।
पूर्वराजा ज्ञानेन्द्रले दशैं मनाइरहँदा दल र अन्य राजनीतिक संघसंस्था झस्केका छन् । परिवारसँग दशैं मनाउँदा कोही पनि झस्कनुपर्ने अवस्था देखिँदैन । तर, दलहरूले भने जेन–जीबाटै राजसंस्था ल्याउन चलखेल भइरहेका आशंका गरेका छन् । निर्मल निवासमा रहनुभएका पूर्वराजा ज्ञानन्द्रले त्यहीं केही गोप्य भेटघाट गर्न थाल्नुभएको छ । यसअघि आफूलाई पूर्वराजा भन्न नरुचाएको अवस्थामा ज्ञानेन्द्रले पछिल्लो विज्ञप्ति जारी गर्दा पूर्वराजा उल्लेख गर्नुभएको छ । दशैंमा विज्ञप्ति जारी गर्ने क्रममा उहाँले जेन–जी आन्दोलनको मौन समर्थन गर्नुभएको थियो । विशेष गरी युवा पुस्ताको आकांक्षा, नवप्रवर्तनशील सोच र ऊर्जालाई समेट्न सक्ने राज्य प्रणाली आवश्यक रहेको बताउनुभएको थियो ।
‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ, विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नै पर्दछ । भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिँदै गएको राष्ट्रिय समाजको संरचनालाई हामीले अँगाल्नु पर्दछ’ –विज्ञप्तिमा उल्लेख गर्नुभएको थियो ।
युवाहरूलाई देशको भविष्यको आधारस्तम्भको रूपमा चित्रण गर्दै उहाँले उनीहरूमा निहित देशभक्ति, ऊर्जा र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बताउनुभयो । अब बिगार्ने होइन, सपार्नेतर्फ हाम्रो कार्यक्रम अघि बढ्नुपर्छ भन्ने कुरा सन्देशमा उल्लेख थियो ।
स्रोतका अनुसार राजसंस्था पुनःस्थापनाका लागि आन्तरिक गृहकार्य गरिरहनुभएको छ । जेन–जी पुस्ताको भावनालाई साथमा लिएर जेन–जी उमेरकै नातिलाई राजा बनाउने सूक्ष्म गृहकार्यमा पूर्वराजा लागिपर्नुभएको स्रोतको दाबी छ । त्यसैले पहिलो विज्ञप्तिमा जनताको मन जित्न पूर्वराजा लेख्न सुरु गर्नुभएको छ ।
यसअघि संयुक्त जनआन्दोलन समितिले चैत १५ बाट आयोजना गरेको आन्दोलन विफल भएपछि पूर्वराजा ज्ञानेन्द्र अबको योजना तय गर्न झापा जानुभएको थियो । अमेरिकामा अध्ययनरत नाति हृदयेन्द्र शाह केही दिन पोखरा, जुम्ला भ्रमण र केही सार्वजनिक कार्यक्रममा सहभागी भएको देखेर राजावादीले जेन–जीसँग मिलेर आन्तरिक रूपमा राजतन्त्र र हिन्दुराज्य ल्याउने कसरतमा हुनुहुन्छ ।











प्रतिक्रिया