नेपाल सुरक्षित छ: चिनियाँ भ्लगरहरूसँग सिग्नेचर होलीडेको सहकार्य


काठमाडौं ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिग्नेचर होलीडे प्राइभेट लिमिटेडले चिनियाँ भ्लगरहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले हाल नेपाल भ्रमणमा रहेका ५५ जना चिनियाँ सामाजिक सञ्जाल प्रभावशालीहरूसँग सहकार्य गरी उनीहरूलाई नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूमा भ्रमण गराइरहेको छ ।
सोमबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा चिनियाँ भ्लगरहरूले ट्रेकिङ, हिमाली क्षेत्रको अनुभव, नेपाली संस्कृति र आतिथ्यबारे अनुभव सुनाएका थिए । उनीहरूले नेपाल भ्रमण आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको बताएका छन् । सहभागिहरूमध्ये १४ जना भ्लगरका सामाजिक सञ्जालमा मिलियनभन्दा बढी फलोअर्स छन् । कार्यक्रममा सिग्नेचर होलीडेका संचालक शरण श्रेष्ठले भने, “नेपालबारे विश्वमा सकारात्मक सन्देश फैलाउन र नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।”

चिनियाँ भ्लगरहरूले अन्नपूर्ण, मनास्लु लगायतका हिमाली ट्रेकिङ रुटमा पुगेका अनुभव सुनाउँदै, तस्बिर, भिडियो र ब्लगमार्फत आफ्ना फलोअर्सलाई नेपालबारे जानकारी गराइरहेको बताए । उनीहरूले ट्रेकिङका क्रममा भोगेका कठिनाइहरू र स्थानीय संस्कृतिसँगको घुलमिलका प्रसंगहरू पनि साझा गरे । महिला भ्लगरहरूले हिमाल चढ्न सकिने आत्मविश्वास नेपाल आएर अझ बढेको बताएका छन् ।

कार्यक्रममा बागमती प्रदेशका पर्यटन मन्त्री सुरेश श्रेष्ठले नेपाल विदेशी पर्यटकका लागि सुरक्षित गन्तव्य भएको बताउँदै बागमती प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि विदेशी भ्लगरहरूलाई आमन्त्रण गर्न छुट्टै बजेट व्यवस्था गरेको जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै यस्तो प्रकारको कार्यक्रम नेपालको छवि निर्माणमा प्रभावकारी हुने बताए । टानका अध्यक्ष सागर पाण्डेले भारत र चीनजस्ता छिमेकी मुलुकहरूबाट पर्यटक बढाउने लक्ष्यमा डिजिटल प्रवर्द्धनले ठूलो भूमिका खेल्ने बताए । नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले चीनबाट आएका भ्लगरहरूलाई नेपालको विविध पर्यटकीय गन्तव्यको जानकारी दिँदै नेपालबारे विश्वलाई अवगत गराउन आग्रह गरे । सिग्नेचर होलीडेका अनुसार चिनियाँ भ्लगरहरूको टोलीले नेपालका हिमाली, शहरी तथा सांस्कृतिक स्थलहरूमा १४ दिनसम्म भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ ।