सिरुवारीको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, आवागमन जोखिमपूर्ण


काठमाडौं ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीमा गएको ठूलो पहिरोका कारण बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ। कालीगण्डकी कोरिडोर अन्तर्गतको यो सडक मुस्ताङ जोड्ने प्रमुख मार्ग हो। सामान्य वर्षा हुँदा पनि पहिरो खसेर सडक साँघुरो र हिलाम्मे बनेको छ। सवारी साधन आवतजावतमा कठिनाइ हुनुका साथै यात्रुहरूमाथि ढुङ्गा खस्ने जोखिम रहेको छ।

सडक नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेर पहिरो पन्छाउने कार्य भइरहे पनि ठूला कन्टेनर र यात्रुबाहक गाडीहरू जाममा पर्न थालेका छन्। इञ्जिनियर बिष्णु चापागाईका अनुसार, वर्षा रोकिएपछि पहिरो सरसफाइ गरी दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी भइरहेको छ। पहिरोको दीर्घकालीन रोकथामका लागि अध्ययन पनि थालिएको छ।