खानेपानी विभागको चेतावनी पानीजन्य रोगको जोखिम उच्च


काठमाडौँ ।

अविरल वर्षा, बाढी, पहिरो र डुबानका कारण पानीजन्य रोगको जोखिम बढेको भन्दै खानेपानी तथा ढल व्यवस्थापन विभागले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

विभागले स्वच्छ खानेपानी प्रयोग र व्यक्तिगत सरसफाइमा जोड दिँदै झाडा–पखाला, हैजा, टाइफाइड, जन्डिसजस्ता रोगको खतरा रहेको बताएको छ। उप–महानिर्देशक नारायणप्रसाद आचार्यले पानी शुद्धीकरण गरेर मात्र पिउन अनुरोध गरे।

विभागले देशभरका सम्बन्धित कार्यालय र उपभोक्ता महासङ्घलाई सचेतना अभियान सञ्चालन गर्न निर्देशनसमेत दिएको छ। बालबालिका, वृद्ध र दीर्घरोगीहरू विशेष जोखिममा रहेको भन्दै उनीहरूको हेरचाहमा विशेष ध्यान दिन अपिल गरिएको छ।