काठमाडौं
काठमाडौंको बसन्तपुरस्थित सबैभन्दा पुरानो विहार श्रीखण्ड तरुमुल महाविहारका सदस्यहरुले कोजाग्रत पूर्णिमाको अघिल्लो दिन सोमबार जीवित देवदेवी गणेश, भैरव र कुमारीको हातबाट टीका ग्रहण गरेर यो वर्षको मोहनी नखः मनाएका छन् । श्रीखण्ड तरुमुल महाविहार संरक्षण तथा संचालन समितिको आयोजनामा परम्परागत नेवारी बाजागाजासहित नगर परिक्रमा गरी जीवित देवदेवी गणेश, भैरव र कुमारीको घरमा गई पूजाअर्चना गरी ती देवदेवीको हातबाट टिका ग्रहण गरेका हुन् ।

महाविहार संरक्षण तथा संचालन समितिका अध्यक्ष ई। दिल्लीरत्न शाक्यले यो वर्ष पनि बाढीपहिरोले पोहोर जस्तै धेरै जनधनको क्षति भएकोले यस्ता प्राकृतिक प्रकोपबाट सबैको रक्षा होस् भन्ने कामनासहित जीवित देवी कुमारीका साथै जीवित देव गणेश र भैरबको पूजाअर्चना र प्रार्थना गरिएको बताए ।मोहनी नखःलाई अझ उल्लासमय बनाउन र महाविहारका सदस्यहरूबीचको भाइचारा र सौहार्दपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन महाविहार संरक्षण तथा संचालन समितिले विगत चार वर्ष अघिदेखि जीवित देवदेवीको हातबाट टिका थाप्न शुरु गरेको हो ।

चन्द्रमासमा आधारित पात्रोअनुसार कौलाथ्व महिनाको वर्षको अन्तिम महिना भएकोले पनि यो दिन वर्षभरि गरिएको राम्रो कामलाई निरन्तरता दिन सकियोस् र भूलबस हुन पुगेका नराम्रा कामहरूका लागि क्षमायाचना गर्दै नयाँ वर्षको शुरुवात गर्ने प्रचलनअनुसार महाविहारले गणेश, भैरव र कुमारीको पूजा गरेको बताइयो ।

७ सयभन्दा बढी सदस्य रहेको कुमारी घरसँगैको यस महाविहारको स्थापना काष्ठमण्डपको निर्माणमा विशेष योगदान दिएका प्रख्यात बौद्ध सिद्धाचार्य लिलावज्र बज्राचार्यले सातौं शताब्दीमा गरेको मानिन्छ। सिखंमू बहाः को नामले पनि चिनिने यो महाविहार काष्ठमण्डप बनाएर बचेको रुखको काठबाट संगैको सिंह सतल बनाएपछि बाँकी रहेको काठको टुक्राटाक्री र जराबाट बनाइएको र त्यसैकारण यस महाविहारलाई सिखंमू बहाः भनिएको भनाई छ ।











प्रतिक्रिया