अविरल आरिघोप्टे वर्षातपछि धुलिखेल नगरपालिकामा बसेको बैठक बाट तुरुन्तै सात बुँदे निर्णय


काभ्रे, धुलिखेल ।

धुलिखेल नगरपालिकाले निरन्तर परेको वर्षातबाट नगरका विभिन्न स्थानहरूमा भएको क्षति मूल्यांकन र तत्काल उद्धार तथा राहत कार्य सञ्चालनका लागि सात बुँदे निर्णय गरेको छ।

आश्विन १८ गतेदेखि परेको अविरल वर्षातका कारण जनजीवन प्रभावित भएपछि आइतबार नगर प्रमुखको अध्यक्षतामा बसेको पूर्ण बैठकमा उप–प्रमुख, १२ वटै वडाका वडा अध्यक्षहरू तथा सम्बन्धित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।

बैठकले क्षतिको अवस्थालाई ध्यानमा राख्दै तत्काल गर्नुपर्ने उद्धार, राहत र पूर्वाधार पुनःस्थापना सम्बन्धी निम्न निर्णयहरू गरेको छः

1️⃣ पूर्ण क्षति भएका निजी आवासहरू स्थलगत प्राविधिक निरीक्षण गरी राहत उपलब्ध गराइनेछ। साथै सो परिवारलाई आवश्यक खाद्यान्न, त्रिपाल, जस्ता पाता लगायतका राहत सामग्री वितरण गरिनेछ।

2️⃣ आंशिक क्षति भएका आवासहरूमा थप जोखिम नबढोस् भनी त्रिपाल तथा प्लास्टिक शीट उपलब्ध गराइनेछ।

3️⃣ पूर्ण क्षति भएका घरहरूलाई रु.५०,००० (पचास हजार), आंशिक क्षति भएका घरहरूलाई रु.२०,००० (बीस हजार) र गोठहरूलाई तत्काल राहतस्वरूप रु.१०,००० (दस हजार) प्रदान गरिनेछ।

4️⃣ मुख्य सडकहरू तत्काल सुचारु गर्ने व्यवस्था मिलाइनेछ र सहायक सडकहरू क्रमशः खोलिँदै लैजाने निर्णय गरिएको छ।

5️⃣ खानेपानीका मुहान र पाइपलाइनहरू तत्काल मर्मत गरी सञ्चालनमा ल्याइनेछ।

6️⃣ वर्षातपछि फैलिन सक्ने रोगहरू, विशेष गरी हैजा लगायत सरुवा रोग नियन्त्रणका लागि नगर स्वास्थ्य संयन्त्रलाई चुस्त-दुरुस्त राखी प्रभावकारी रूपमा परिचालन गरिनेछ।

7️⃣ सबै वडामा भएका क्षतिको विस्तृत विवरण संकलन कार्य तत्काल प्रारम्भ गरिनेछ।

बैठकले वर्षातका कारण प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउन सबै वडास्तरका जनप्रतिनिधि,कर्मचारी र स्वयंसेवकलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिएको छ।