उदयपुर ।
उदयपुरको सदरमुकाम गाईघाटबाट जिल्लाका विभिन्न ठाउँमा चल्ने सवारी साधानहरु तीनदिनदेखि भैरहेको अत्यधिक वर्षाका कारण सबै सडकहरु बन्द भएका छन् भने नदीहरुमा पानीको बहाव बढ्दै गएको छ ।
शुक्रबारदेखि निरन्तर परिरहेको पानीले गर्दा उदयपुरको सदरमुकाम गाईघाटदेखि जिल्लाको विभिन्न ठाउँमा संचालन भैरहेका यातायात सेवाहरु अहिले पूर्ण रुपमा ठप्प भएका छन् ।
जिल्लाको पहाडी क्षेत्रहरु रौतमाईको फोक्सिंटार, भुट्टार, लाफागाउँ, ताप्लीको रुपाटार, लिम्चुङबुङको जाँते, बलम्ता, ताम्लिछा,बाराहा लगायतका पहाडी क्षेत्रमा संचालन हुँदै आएका साना ठूला सबै खाले सवारी साधानहरु पूर्ण रुपले बन्द भएका छन् ।
पहाडी ग्रामिण क्षेत्रमा कच्ची सडक रहेको र बाढी पहिरोले सडक क्षतीग्रस्त भएका कारण तथा स्थानीय प्रशासनले वर्षाका समयमा सावधानी अपनाउन सबैमा अनुरोध गरेकोले पनि सवारी यातायात पूर्ण रुपले बन्द भएको हो ।
उदयपुर जिल्लाभित्रको मदन भण्डारी लोकमार्गमा पनि नदीको कटान हुने समस्या तथा बाढी पहिरोको भय भएकोले र मिर्चैया कटारी घुुर्मी सडकमा पनि सवारी आवागमनमा समस्या आउन सक्ने भएकोले यातायात संचालनमा रोक लगाइएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका अनुसार जिल्लामा सबै खाले यातायात सेवा बन्द रहेको जानकारी दिंदै मनसुन सक्रिय भएकोले सम्भावित क्षतिलाई न्यूनीकरण गर्न र सावधानी अपनाउन सूचना जारी भएको छ । जिल्लाभित्रका सप्तकोशी, त्रियुगा, बरुवा, गिदेरी लगायतका नदीहरुमा पानीको बहाव बडेकोले नदी किनारमा रहेका बस्तीहरु डुवानबाट जोगाउन आवश्यक तयारी रहेको गरिएको छ ।
यसैगरी सप्तकोशी नदीको बहाव बढिरहेकोले भागलपुर, डुम्रीबोटे,एबिसी टप्पु लगायतका बस्तीहरुमा सतर्कता अपनाउन सुचना जारी गरिएको छ भने बेलका नगरपालिकाको गिदेरी नदीको बहाव बस्तीमा पस्न सक्ने भएकाले सबैलाई सतर्कता अपनाएर बस्न अनुरोध गरिएको प्रजिअ लुइटेलले बताउनु भयो ।











प्रतिक्रिया