वीरगञ्जमा २४ घण्टामा १८२ मिमि भारी वर्षा


काठमाडौं ।

नेपालमा सक्रिय भएको भारी वर्षा प्रणालीका कारण पछिल्लो २४ घण्टामा पर्साको वीरगञ्जमा सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वीरगञ्जमा २४ घण्टामा १८२ मिलिमिटर पानी परेको छ।

त्यसैगरी बाराको कलैयामा १७६ मिलिमिटर, रौतहटको गौरमा १६२ मिलिमिटर र रौतहटकै महेशपुरमा १४४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

विभागका अनुसार २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा हुनु चेतावनी तह (Alert Level) मानिन्छ। यी चारवटै वर्षा मापन केन्द्रमा चेतावनी तह पार भएकाले नारायणी, बागमती, लल्बकैया लगायतका नदीहरूमा पानीको सतह बढ्ने र तटीय क्षेत्रमा डुबानको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले ४ देखि ६ अक्टोबरसम्म देशका मध्य र पूर्वी भूभागमा अझै भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।