३३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत आयोजना अघि बढ्यो


काठमाडौं ।

३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको कार्यान्वयन प्रक्रिया अघि बढेको छ । ऊर्जा मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ ।

हुम्ला जिल्लाको खार्पुनाथ र सर्केगाड गाउँपालिकामा निर्माण हुने यो आयोजना नदीको बहावमा आधारित हुनेछ । परियोजना सुरुआत सिचुआन वाङपिङ इनर्जीले गरे पनि हाल रुरु जलविद्युत परियोजनाले निर्माणको तयारी गरिरहेको छ ।

७२ अर्ब ९० करोड लागत अनुमान गरिएको आयोजनामा दुईवटा डाइभर्सन सुरुङ, ६२ मिटर अग्लो बाँध, र ६१.०२ हेक्टर भूमि आवश्यक पर्नेछ । आयोजनाका कारण ५६ घरधुरी प्रभावित हुनेछन् ।

सन् २०२६ मा सुरु भई २०३१ मा सम्पन्न हुने आयोजनाले निर्माण अवधिमा वार्षिक औसत १,८०५ जनालाई रोजगारी दिनेछ भने सञ्चालनपश्चात् ११५ जनाले स्थायी रोजगारी पाउनेछ ।