देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौँ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तहसम्म पुग्न सक्ने देखिएको छ। विशेष गरी बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, चितवन लगायत, कोशी, मधेस प्रदेशका केही जिल्लामा आकस्मिक बाढी र डुबानको जोखिम रहेको छ।

दसैँको भीडभाडलाई ध्यानमा राख्दै अत्यावश्यक नपरी राति यात्रा नगर्न सुझाव दिइएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानबारे जानकारी लिन र दिन आग्रह गरिएको छ। साथै, सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायलाई पूर्वतयारीमा सक्रिय रहन निर्देशन दिइएको छ।