जुम्लामा सुपथ मूल्य पसलमार्फत ७ सय क्विन्टल चामल बिक्री


काठमाडौं ।

दसैंको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लामा सञ्चालन गरेको सुपथ मूल्य पसलबाट दुई सातामा झन्डै ७ सय क्विन्टल चामल बिक्री भएको छ। भदौ ३० गतेदेखि सञ्चालनमा आएको पसलमा एक हजार एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य रहेकोमा हालसम्मको बिक्रीले उपभोक्ताको आकर्षण देखाएको छ।

चामलको मूल्य बजारभन्दा प्रतिकेजी ५ रुपैयाँ सस्तो राखिएको छ। चन्दननाथ, गुठीचौर, पातारासी, तातोपानी लगायतका क्षेत्रका बासिन्दाले बढी मात्रामा चामल खरिद गरेका छन्।

यस वर्ष जुम्लाका लागि ५ हजार क्विन्टल चामलको कोटा तोकिएकोमा हालसम्म २ हजार ५ सय क्विन्टल आइपुगेको र बाँकी निरन्तर आइरहेको कार्यालयले जनाएको छ। उपभोक्ताले सुपथ मूल्यमा सहजै चामल किन्न पाएका छन्।