धिरजको कौतूहलता माइतीघर


दशैंको अवसरमा आज सोमबार फूलपातीको दिनबाट रिलजमा आउने फिल्म माइतीघरका मुख्य नायक धिरज मगर पहिलोपटक मल्टिस्टारर फिल्ममा काम गरेर उत्साहित छन्।

यो फिल्मको स्क्रिप्ट दुई वर्ष अगाडि नै उनको हातमा परेको थियो। स्क्रिप्ट पढ्ने बित्तिकै उनी फिल्म खेल्न उत्साहित भएका रहेछन्। ‘यो फिल्मले तामाङ संस्कृतिको सेरोफेरोमा रहेर जुन किसिमको कथा प्रस्तुत गरेको छ, त्यो मलाई निकै मन प¥यो।

यसले, माइतीघर र चेलीको सम्बन्धलाई जुन शैलीमा देखाएको छ, त्यसले मलाई आकर्षित गरेको हो’ धिरज सुनाउँछन् ‘मेरो क्यारेक्टर पुरै नकारात्मक नभए पनि ग्रे सेडमा छ। यही पात्रको यात्रा नै मलाई मन परेको हो। ट्रेलरमा पनि भिन्न गेटअपमा मेरो पात्र देखिएको छ जस्तो लाग्छ ।

फिल्ममा कहिले प्रहरीको भेषमा त कहिले विदेशी लाहुरेको रुपमा मेरो पात्र प्रकट हुन्छ। यसले, दर्शकमा कौतूहलता र दुविधा दुवै सिर्जना गर्छ।’

फिल्मले पूर्ण रूपमा मनोरञ्जन दिने र क्लाइमेक्सले दर्शकको मनमा विशेष स्थान बनाउने दाबी धिरजको छ। धिरजले, फिल्म हेर्दा दर्शक हाँस्दाहाँस्दै रुने अनुमान पनि सुनाए। पारिवारिक फिल्म भएकाले पनि दशैंमा दर्शकका लागि विशेष हुने उनको भनाइ छ ।

रोहित अधिकारीको निर्माण र मिलन तामाङको निर्देशन रहेको फिल्ममा धिरजको साथमा केदारप्रसाद घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन्।