शान्तिपूर्ण आन्दोलनमा भएका घटनाको तत्काल छानबिन गर्न माग


काठमाडौँ।

हामी नेपाल संस्थाका संयोजक तथा जेनजी समूहका सह-समन्वयक सुदन गुरुङ्गले भदौ २३ र २४ गते भएको शान्तिपूर्ण आन्दोलनका क्रममा भएका घटनाको तत्काल छानबिन गर्न माग गरेका छन्।

गुरुङ्गले आइतबार जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसमक्ष पत्र बुझाउँदै आन्दोलनका क्रममा युवामाथि भएको निर्मम गोली प्रहार र दर्जनौँको हत्या सम्बन्धी घटनाको पूर्ण तथा पारदर्शी छानबिनसहित कारबाहीको माग गरेका हुन्।

“शान्तिपूर्वक प्रदर्शन भइरहेका बेला नेपाल सरकारको प्रहरी प्रशासनबाट युवामाथि अमानवीय ढंगले गोली प्रहार गरी दर्जनौँको हत्या गरिएको छ, जसले मानवता विरुद्धको अपराध (Crime against humanity) गरेको प्रमाणित भएको छ,” पत्रमा उल्लेख छ। उनले सो घटनाले अन्तर्राष्ट्रिय जगतमा समेत राज्यको बदनामी भएको भन्दै जिम्मेवार व्यक्तिलाई कानूनबमोजिम कठोर सजाय हुनुपर्ने माग गरेका छन्।

गुरुङ्गले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका पदाधिकारी र फिल्डमा खटिएका सुरक्षाकर्मी कसको आदेशमा गोली चलेको हो भन्नेबारे छानबिन गरी कानूनअनुसार हदैसम्मको कारबाही गर्न आग्रह गरेका छन्। साथै, घटनामा संलग्न व्यक्तिलाई निलम्बन गरी पासपोर्ट रोक्ने र नजरबन्दमा राखी आवश्यक अनुसन्धान अगाडि बढाउनुपर्ने माग पत्रमार्फत राखिएको छ।