काठमाडौं ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई देश जिम्मा लगाएर आफू विदेश नभाग्ने बताउनुभएको छ । ओलीले राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको गुन्डुमा आयोजना गरेको ’बडादसैंको अवसरका खुला भेटघाट’ कार्यक्रममा बोल्दै भन्नुभयो ’यो हाहुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि संवैधानिक मूलधारमा देशलाई ल्याउँछौं । शान्ति सुशासनमा फर्काउँछौं ।’त्यसैले कहि भाग्ने भन्ने कुरै हुँदैन् । ’
वर्तमान सरकार जनताको अभिमतबाट बनेको नभई तोडफोड र आगजनीबाट बनेको ओलीले आरोप लगाउनुभयो । आफूले कुनै षड्यन्त्र नगरेको भन्दै उहाँले थप्नुभयो ’यो सरकारले मैले बोलेका कुरा रेकर्ड गरेर बाहिर ल्यायोस् । हिम्मतका साथ प्रकाशित गरोस् । मैले कर्मचारीलाई दिएका निर्देशन, प्रहरीलाई दिएका निर्देशन रेकर्डेड छन्, बाहिर ल्याओस् ।’
उहाँले आफू अहिले बसेको घर ’लोकेट’ गरेर आक्रमणको धम्की दिँदा पनि सरकारले सुरक्षा नदिएको गुनासो गर्नुभयो । ’अहिले सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर लोकेट गरेर हमला गर्न जाऔं भनेर तोकिएको छ, सरकार के हेरेर बसेको छ ?’ ओलीले भन्नुभयो ’सरकार अहिले सुविधा फिर्ता गर्छु, पासपोर्ट रोक्छु, मुद्दा लाउँछु भन्दै छ । असुरक्षामा देश हाल्ने अनि सुरक्षा दिनुपर्छ कि पर्दैन ?’











प्रतिक्रिया