काठमाडौँ।
यस वर्षको दशैं अवधिभर नेपालमा मनसुनी वायूको प्रभाव रहिरहने भएकाले वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल नेपालमा मनसुन वायूको प्रभाव केही कमजोर भए पनि अझै नेपालबाट मनसुन बहिर्गमन भइसकेको छैन। सामान्यतया नेपालमा असोजको दोस्रो साता अर्थात अक्टोबर २ तारिखतिर मनसुन समाप्त हुने गरे पनि हरेक वर्ष फरक-फरक मितिमा बहिर्गमन हुने गर्दछ।
असोज १४ (अष्टमी): बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असोज १५ (नवमी): कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असोज १६ (दशमी): बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा साथै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले दशैं अवधिभर मनसुन सक्रिय रहने भएकाले हरेकले मौसमसम्बन्धी अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











प्रतिक्रिया