दसैँमा अस्पतालहरूको आकस्मिक सेवा सञ्चालन, अत्यधिक खानपानबाट बच्न चिकित्सकको सुझाव


काठमाडौं ।

दसैँको अवसरमा आकस्मिक स्वास्थ्य समस्या हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै देशभरका अस्पतालहरूलाई बिदाको समयमा पनि आवश्यक सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। सिभिल, ट्रमा सेन्टर, त्रिवि, पाटन, वीर, गङ्गालाल लगायतका प्रमुख अस्पतालहरूले इमर्जेन्सी, आइसियु, भर्ना सेवा निरन्तर सञ्चालनमा राख्ने भएका छन्।

ओपिडी सेवा भने अधिकांश अस्पतालमा केही दिन बन्द रहनेछ। अस्पतालहरूमा सिफ्ट प्रणाली अनुसार स्वास्थ्यकर्मीको ड्युटी तय गरिएको छ।

यसैबीच, डा.शेरबहादुर पुनले दसैँमा अत्यधिक खानपान र सरसफाइमा लापरबाही नगर्न सुझाव दिएका छन्। दीर्घरोग भएका बिरामी, बालबालिका र वृद्धवृद्धाले विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन्। हाल हैजा, डेंगु, स्क्रब टाइफस, जापानी इन्सेफलाइटिसको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन समेत चिकित्सकहरूले आग्रह गरेका छन्।