अर्थ मन्त्रालयमा GIOMS प्रणालीको शुभारम्भ, कागजरहित प्रशासनको दिशामा महत्वपूर्ण कदम


काठमाडौं ।

नेपाल सरकारको अर्थ मन्त्रालयले आजदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) को औपचारिक शुरुवात गरेको छ। अर्थमन्त्रीज्यूले GIOMS प्रणालीमा पहिलो फाइल स्वीकृत गरी यसको शुभारम्भ गर्नुभएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको यो प्रणालीमार्फत सरकारी कार्यालयहरूमा हुने कार्यहरूलाई विद्युतीय रुपमा सजिलो, छिटो, मितव्ययी र पारदर्शी ढंगले सम्पन्न गर्ने उद्देश्य लिइएको छ। अबदेखि तोक आदेश, टिप्पणी निर्णय, चिठीपत्रको दर्ता-चलानी, हाजिरी, बिदा तथा काज स्वीकृति लगायतका कार्यहरू GIOMS मार्फत विद्युतीय हस्ताक्षर प्रयोग गरी अनिवार्य रूपमा सम्पादन गरिनेछ।

प्रणालीको कार्यान्वयनबाट निर्णय प्रक्रिया तीव्र, खर्चमा मितव्ययिता, कार्यप्रणालीमा पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति हुने विश्वास व्यक्त गरिएको छ। यससँगै कागजरहित प्रशासनको अवधारणालाई कार्यान्वयनतर्फ एक महत्वपूर्ण पाइला अघि बढेको छ।


जानकारी सम्बन्धमा

नेपाल सरकार अर्थ मन्त्रालय जानकारी सम्बन्धमा मिति २०८२ आश्विन १० गतेदेखि अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) को शुरुवात गरेको छ । उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्रीले GIOMS प्रणालीको शुभारम्भ गर्नु भएको छ । सरकारी निकायबाट सम्पादन हुने कार्यहरुलाई एउटै सूचना प्रविधि प्रणाली मार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कागजरहित (Paperless) सरकारको अवधारणालाई कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकिकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा समेत अनिवार्य गरिएको छ। उक्त एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गरि विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरि सम्पादन गर्नु पर्ने गरि व्यवस्था गरिएको छ।यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा सीघ्रता, खर्चमा मितव्ययिता, कार्यप्रक्रियामा पारदर्शिता, जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । मिति २०८२।०६।१० गते शुक्रबार