देउवा, खड्का र प्रचण्डको घरमा भेटिएको पैसाका बारेमा छानबिन

ओलीको घरमा पनि मुचुल्का


काठमाडौं ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेन–जी आन्दोलनका क्रममा आगालागी भएका विभिन्न नेताहरूको घरमा भेटिएको पैसाका बारेमा विस्तृत अनुसन्धान थालेको छ ।

विभागले पैसा भेटिएको भनिएका कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा पोलिएको अवस्थामा भेटिएको नोटका बारेमा छानबिन थालेको हो ।

यसै गरी विभागको टोलीले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा समेत पुगेर जलेका सामानहरूको बारेमा मुचुल्का तयार पारेको छ । कांग्रेसका सभापति देउवाको निवास बूढानीलकण्ठ, नेकपा एमालेका अध्यक्ष ओलीको निवास बालकोट र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पुगेर विभागको टोलीले मुचुल्का उठाएको हो ।

२४ गतेको आगजनीपछि देउवा, प्रचण्ड र खड्काको घरमा पैसाका थुप्रो जलेको भनेर भिडियो बाहिरिएको थियो । खड्काको घरबाट पैसाका नोटहरू आकाशमा उडाइएको भिडियो बाहिरिएको थियो । त्यतिखेर विभिन्न भिडियोहरूमा बूढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपियाँ (हजार÷पाँच सयका नोट) का चाङ रहेको र जलेको अवस्थामा थुप्रै नोटहरू भेटिएको सार्वजनिक भएको थियो ।

स्थानीय प्रत्यक्षदर्शीले देउवाको घरमा पैसा राख्ने सुरुङसमेत भेटिएको दाबी गरे पनि पछि देउवाको सचिवालयले त्यो सुरुङ नभई पानी ट्यांकी भएको स्पष्टीकरण दिएको थियो । सोही दिन ‘प्रचण्ड’को निवासमा पैसा राख्न प्रयोग गरिने सेफहरू फोडिएको र डढेको पैसाको चाङ भनेर भिडियो भाइरल बनेका थिए । त्यतिखेर प्रचण्डको घरमा एक युवती र स्थानीयले पैसाको चाङ जलेको र एउटा कोठाभरि पैसा भएको दाबी गरेका थिए । सामाजिक सञ्जालमा जलेका नोटका तस्वीरहरू सार्वजनिक भएका थिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अनुसन्धान अधिकृतका अनुसार शीर्ष नेताको घरमा डढेको अवस्थामा केही नोटहरू भेटिए पनि त्यसकै आधारमा थप अनुसन्धान अघि बढाउन कठिन हुन सक्छ । उनले नेताहरूको सम्पत्ति छानबिन गर्ने विषयमा सरकारले नै बोल्ड निर्णय गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘नेताका घरमा पैसा उड्दासमेत छानबिन नहुने, तर उजुरीकै भरमा अन्यको सम्पत्ति शुद्धीकरणमाथि छानबिन गर्नु न्यायिक हिसाबले पनि बराबर नहुने देखिएपछि माथिकै निर्देशनमा मुचुल्का उठाउन गएका हौं,’ विभागका एक अधिकृतले भने– ‘साँच्चिकै नेताहरूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्ने हो भने सरकारले बोल्ड निर्णय लिनुपर्छ र त्यही अनुसार टोली परिचालन गर्नुपर्छ ।’


वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारको सन्दर्भमा यो छोटो समयमा नै स्पष्ट जानकारी पाइसकेको छ । तसर्थ त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ । प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिन र कारबाही सुरु गरिसकेको छ ।

सुशीला कार्की, प्रधानमन्त्री