राहत प्याकेजमा नाडाको स्वागत


काठमाडौं ।

आन्दोलनका कारण प्रभावित उद्योग–व्यवसायलाई सम्बोधन गर्दै सरकारले घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्वागत गरेको छ। नाडाका अनुसार यस कदमले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई पुनर्जीवित गर्ने स्पष्ट सन्देश दिएको छ ।

नाडाकाले अटोमोबाइल उद्योग गम्भीर रूपमा प्रभावित भएको बताउँदै विशेष प्याकेज ल्याउन आग्रह गरेको थियो। सो अनुरोधलाई सरकारले प्राथमिकताका साथ सम्बोधन गरेकोमा उद्योगी–व्यवसायीले आत्मबल पाएको नाडाले जनाएको छ । सरकारले घोषणा गरेको प्याकेजमा बीमाको अग्रिम भुक्तानी, पुनर्बीमा प्रक्रियामा सहजता, क्षतिग्रस्त व्यावसायिक सवारी खरिदमा न्यूनतम ८० प्रतिशत बैंक कर्जा सुविधा, आयातमा भन्सार छुट, राष्ट्रिय पुनर्निर्माण कोषमा योगदानलाई कर कटौतीमा गणना गर्ने व्यवस्था, ऋणी व्यवसायीका लागि साँवा–ब्याज भुक्तानी अवधि थप्ने, सहुलियत दरमा कर्जा उपलब्ध गराउने, रोजगारी सुरक्षित गर्न ‘पेरोल प्रोटेक्सन स्किम’ लागू गर्ने र दशैंबाहेक अन्य विदामा समेत व्यापारिक सहजीकरणका लागि सरकारी निकाय खुला राख्ने प्रावधानहरू समावेश छन् ।

यी उपायहरूले प्रत्यक्ष रूपमा प्रभावित अटोमोबाइल व्यवसायीलाई राहत पु¥याउने, कर्जा प्रवाहमा सहजता ल्याउने, कर–भन्सार छुटमार्फत क्षति कम गर्ने र रोजगारी सुरक्षित गर्ने अपेक्षा नाडाले व्यक्त गरेको छ। तर, नाडाले यो प्याकेजलाई केवल आन्दोलन प्रभावित व्यवसायसम्म सीमित नगरी सम्पूर्ण अटोमोबाइल क्षेत्रमा विस्तार गर्न आग्रह गरेको छ । साथै, दीर्घकालीन दृष्टिमा इलेक्ट्रिक सवारीको रोडम्याप कार्यान्वयन, भन्सार सुधार र पूर्वाधार विस्तारमा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ ।