काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको सुधारका लागि नेता कार्यकर्तासँग सुझाव संकलन तथा अन्तरक्रिया थाल्नुभएको छ । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणाप्रति नेता कार्यकर्ताहरूको प्रतिक्रिया र सुझाव आउने क्रम बढेपछि नेता पौडेलले पार्टीमा उठाउने गरी सुझाव संकलन थाल्नुभएको हो ।
केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत प्राप्त प्रतिक्रियाहरू ग्रहण गर्दै स्थानीय तहसम्मकै नेता तथा कार्यकर्तासँग औपचारिक संवादसमेत अघि बढाएको बताउनुभएको छ ।
पौडेलले जुममार्फत गरेको अन्तरक्रियामा सातै प्रदेशका करिब ५० क्षेत्रीय सभापतिहरू सहभागी थिए । उनीहरूले कांग्रेसको सुधारका लागि आत्मालोचनासहित नेता पौडेलले सारेको धारणामा सहमत रहेको भन्दै पार्टी रूपान्तरण तथा पुस्तान्तरण आवश्यक रहेको बताएका छन् । अबको केही समय निरन्तर सुझाव संकलन गर्ने र त्यसलाई दस्तावेजीकरण गरेर केन्द्रीय समितिमा प्रस्तुत गर्ने योजना रहेको पौडेलले बताउनुभयो ।
उहाँले आफू पार्टी सुधारका पक्षमा उभिएको भन्दै कार्यकर्ता तथा नेताबाट प्राप्त सुझाव र विज्ञहरूसँगको थप छलफलपछि दस्तावेजसहित आउने बताउनुभयो ।











प्रतिक्रिया