काठमाडौँ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सामुदायिक विद्यालयको स्तर उकास्ने सरकारी अभियानमा सघाउन सामाजिक संघ संस्थाहरुलाई अनुरोध गरेका छन् ।
शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) का पदाघिकारीसँगको छलफलमा बुधवार मन्त्री पुनले विद्यालय शिक्षा सुधारको जिम्मेवारी हरेक व्यक्ति तथा संस्थाले लिनुपर्ने बताए । शिक्षाको समग्र पक्षको सुधारको लागि सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताउँदै मन्त्री पुनले विद्यालय शिक्षामा प्रदान भइरहेको सेवालाई प्रभावकारी बनाउने विषयमा सरकारलाई रचनात्मक सुझाव दिन समेत आग्रह गरे ।

विद्यार्थीलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउन सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गर्न निर्देशन दिइएको सो अवसरमा मन्त्री पुनले बताए । साथै शिक्षक दरबन्दी थप गर्नको लागि आर्थिक स्रोतको अभाव हुन नदिने पनि मन्त्री पुनले प्रतिबद्धता जनाए ।
एनसिई नेपालका अध्यक्ष लवराज ओलीले विद्यालय शिक्षाको सिकाइ स्तर सुधार, भौतिक पूर्वाधार बिस्तार, शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको अन्त्य लगायतका विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । एनसिई नेपालमा मुलुकभर शिक्षा क्षेत्रमा क्रियासिल पाँच सय नौ वटा सामाजिक संस्था आबद्ध रहेको बताउँदै अध्यक्ष ओलीले सरकारले ल्याउने हरेक नीति तथा कार्यक्रमको कार्यान्वयनको लागि संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा एनसिई नेपालले विद्यालयमा स्वास्थ्य सहयोग, एसइई केन्द्रित सहयोग संयन्त्र निर्माण, विद्यालयमा गुनासो सुन्ने संयन्त्र निर्माण, विद्यालय सुरक्षा र सुरक्षा सचेतना, विद्यालय शिक्षा अनुगमन तथा समर्थन संयन्त्र निर्माण, शिक्षामा पारदर्शिता र नागरिक सहभागिता, नीति निर्माण तहमा नागरिक समाजको सहभागिता लगायत शिक्षा मन्त्रालयले अल्पकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको विषयमा सुझाव प्रस्तुत गरेको थियो ।











प्रतिक्रिया