निर्वाचन कानुनसम्बन्धी जटिलता फुकाउन अध्यादेश ल्याउँदै सरकार

मतदाता नामावली खुला र विदेशमा बसेकालाई मताधिकार दिइने

3.38k
Shares

काठमाडौं ।

सरकारले अध्यादेशमार्फत निर्वाचन कानुनसम्बन्धी जटिलता फुकाउने तयारी अघि बढाएको छ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउन संसद् नभएको बेला मतदाता नामावली संकलनमा उत्पन्न कानुनी अवरोध अध्यादेशमार्फत हटाउन लागेको हो ।

सरकारले मतदाता नामावली दर्ता खुल्ला गराउने, विदेशमा रहेका नेपालीहरूलाई मताधिकार, दल दर्ता सम्बन्धीलगायत कानुनहरू अध्यादेशमार्फत ल्याउने तयारी अघि बढाएको हो ।करिब छ महिनादेखि मतदाता नामावली संकलन कार्यक्रम रोकिएको छ । मिति तोकिसकेपछि कानुनबमोजिम सो निर्वाचन प्रयोजनका लागि नयाँ मतदाताको नाम समावेश नहुने प्रावधान रहेको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) मा निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख छ । निर्वाचन आयोगले १६ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने अवस्थाका लागि प्रचलित व्यवस्थामा सुधारका लागि प्रस्ताव पठाएअनुरूप गृह मन्त्रालयले निर्वाचन ऐनमा संशोधन गर्ने गृहकार्य अघि बढाएको छ ।

यसका लागि मन्त्रालयले निर्वाचन आयोगसँग छलफल गरिसकेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले एउटा दफामा सामान्य संशोधन गर्न अध्यादेश ल्याइयो भने मतदाता नामावली अद्यावधिक गर्न सकिने बताउनुभयो । यसअघि बसेको मन्त्रिपरिषद्को बैठकमै निर्वाचनसम्बन्धी ऐन संशोधन अध्यादेश ल्याउने तयारी गरिएको थियो ।

त्यस क्रममा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा कुरो उठेपछि थप छलफल भइरहेको गृह मन्त्रालयले जनाएको छ । त्यसै गरी, दल दर्तासँग सम्बन्धित विषय पहिचान भएको, विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने विषय सम्बोधन गर्नुपर्ने र मतदाताले कार्यक्षेत्रबाटै समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने विषयमा कानुनी बाधा व्यवधान फुकाउने गरी समाधान ल्याउनुपर्ने गृहमन्त्रालयका अधिकारीहरूको भनाइ रहेको छ ।

आयोगले निर्वाचनका लागि आवश्यक व्यवस्थापकीय, प्रशासनिक र प्राविधिक तयारी अघि बढाएको छ । निर्वाचन गराउने मुख्य जिम्मेवारी पाएको सरकारले अहिले निर्वाचनसम्बन्धी कानुन संशोधनको गृहकार्य गरिरहेको कार्र्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले मिति घोषणा गरिएको चुनाव आवधिक चुनाव नभएकाले केही समय मतदाता नामावली संकलन गर्न मिल्ने गरी अध्यादेशमार्फत सम्बोधन गर्ने सहमति गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको छ ।’भण्डारीका अनुसार निर्धारित समयमा चुनाव सम्पन्न गराउन मतदाता नामावली संकलन, स्रोत–साधन तथा जनशक्ति व्यवस्थापनदेखि कानुनी व्यवस्थासम्मका विषयमा काम भइरहेको छ ।

निर्वाचनका लागि आवश्यक तथ्य–तथ्यांक लिने, स्रोत–साधन र सामग्रीको प्रबन्धदेखि जनशक्ति व्यवस्थापनसम्मका काम अघि बढाइएको छ । उहाँले स्रोत–साधन र जनशक्ति सबै उपलब्ध गराउने सुनिश्चितता सरकारले गरेको जानकारी दिँदै निर्वाचनका लागि सबैखाले पूर्वाधार तयार गर्नुपर्ने विषयमा छलफल सुरु भएको बताउनुभयो ।