काठमाडौं ।
लामो समयदेखि विवादमा रहेको नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार सानु भण्डारी र केशव दुलाललाई ललितपुरबाट सोमबार पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनीहरू दुवै जना प्रकरणमा सक्रिय ‘दलाल समूह’ मा संलग्न थिए । अनुसन्धानका क्रममा भण्डारी र दुलालले शरणार्थीका नाममा नक्कली कागजात तयार गर्न सहयोग मात्र नभई करोडौँ रुपैयाँ उठाएको प्रारम्भिक प्रमाण प्रहरीले फेला पारेको दाबी गरेको छ ।
यसअघि यो प्रकरणमा संलग्न भन्दै प्रहरीले ठूला राजनीतिक व्यक्तिहरूलाई समेत पक्राउ गरी मुद्दा दर्ता गरिसकेको छ । पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डेलगायतलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
त्यस्तै, नेपाल कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई समेत पक्राउ गरिएको थियो । तर अदालतको आदेशपछि उनी धरौटीमा रिहा भएका छन् ।
यस प्रकरणमा सत्तारुढ र प्रतिपक्ष दुवै दलका नेताहरू मुछिँदा प्रकरणलाई सर्वदलीय भ्रष्टाचार को संज्ञा दिइएको छ । अनुसन्धानमै रहेका थप अभियुक्तहरूमाथि पनि प्रहरी निगरानी राखिरहेको जनाएको छ ।
सानु भण्डारी र केशव दुलालको गिरफ्तारीसँगै लामो समयदेखि ओझेलमा पर्न थालेको यो प्रकरण पुनः सार्वजनिक बहसमा आएको छ । प्रहरीका अनुसार, उनीहरूमाथि आवश्यक अनुसन्धान पूरा गरी कानुनी प्रक्रिया अघि बढाइनेछ ।
यससँगै भूटानी शरणार्थी प्रकरणले फेरि एक पटक राजनीतिक वृत्त र जनसाधारणको ध्यान तानेको छ । अदालतले यसमा के निर्णय गर्ने हो भन्ने प्रतीक्षामा जनताको नजर गडेको छ ।











प्रतिक्रिया