निर्यात ८८ प्रतिशतले बढ्यो


काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२|८३ को पहिलो दुई महिनामा (साउन–भदौ) ३ खर्ब ५ अर्ब १५ करोड रुपियाँ बराबरको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.२३ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा २ खर्ब ६२ अर्ब ५४ करोड रुपियाँको आयात भएको थियो ।

भन्सार विभागका अनुसार नेपालले यस अवधिमा १२१ वटा देशबाट आयात गरेको छ । सबैभन्दा बढी आयात भारतबाट भएको छ, जसको मूल्य १ खर्ब ७३ अर्ब ५४ करोड रुपियाँ पुगेको छ । त्यसपछि चीनबाट ६५ अर्ब १७ करोड, अर्जेन्टिनाबाट १८ अर्ब ७० करोड, अमेरिकाबाट ६ अर्ब १२ करोड, यूएईबाट ४ अर्ब ३५ करोड र इण्डोनेसियाबाट ३ अर्ब ८१ करोड रुपैयाँको सामान आयात भएको छ । ब्राजिलबाट ३ अर्ब ४८ करोड, कतारबाट २ अर्ब ७७ करोड, क्यानाडाबाट २ अर्ब १८ करोड, थाइल्याण्डबाट २ अर्ब ५ करोड र जापानबाट २ अर्ब १ करोड रुपैयाँको आयात भएको विभागले जनाएको छ ।

उक्त अवधिमा निर्याततर्फ उल्लेखनीय सुधार देखिएको छ । निर्यात ८८।५७ प्रतिशतले बढ्दै ४७ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । गत वर्षको दुई महिनामा निर्यात २५ अर्ब ९ करोड रुपियाँमा सीमित भएको थियो । तर, आयातसँगै व्यापार घाटा पनि बढेको छ । कुल वैदेशिक व्यापार २२.५४ प्रतिशतले बढ्दा व्यापार घाटा ८.५९ प्रतिशतले बढेको विभागको तथ्यांकले देखाएको छ । विशेषगरी भटमासको तेलको निर्यात वृद्धिले समग्र निर्यातमा सकारात्मक प्रभाव पारेको छ । यस अवधिमा मात्रै २० अर्ब ४२ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ, जुन कुल निर्यातको ५६.८४ प्रतिशत हो ।