नेता राजेन्द्र बजगाईंको १२ बुँदे सुधार प्रस्ताव सार्वजनिक


काठमाडौं ।

नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टीको संरचनात्मक सुधार र लोकतान्त्रिक रूपान्तरणका लागि १२ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्।

“देशभन्दा माथि व्यक्ति र पार्टी होइन” भन्ने मूल नारासहित आएको उक्त प्रस्तावमा प्राइमरी प्रणाली, संगठन संरचना सरलीकरण, पारदर्शिता, युवा प्रतिनिधित्व, र राष्ट्रिय सुरक्षा नीतिसम्मका विषय समेटिएका छन्।

बजगाईंले पार्टीभित्र वंशवाद, भागबन्डा र सिन्डिकेटको अन्त्य गर्दै जनउत्तरदायी र डिजिटल पार्टी बनाउने उद्देश्य प्रस्तुत गरेका छन्।

१. प्राइमरी प्रणालीको अवलम्बन:

  • उम्मेदवार छनोट: सांसद, मन्त्री, प्रधानमन्त्रीदेखि पार्टी सभापतिसम्मको छनोट प्राइमरी चुनावबाट गर्नुपर्ने।
  • मतदाता: क्रियाशील सदस्यलाई मात्र (क्लोज्ड प्राइमरी) वा आम नागरिकलाई पनि सहभागी गराउन (ओपन प्राइमरी) सकिने।
  • उद्देश्य: यसबाट वंशवाद, भागबन्डा र सिन्डिकेटको अन्त्य हुनेछ। सदस्यता वितरण पूर्ण रूपमा अनलाइन डिजिटल प्रणालीबाट हुनुपर्ने।

२. संगठन संरचनाको सरलीकरण:

  • प्रदेश कमिटी खारेज: अनावश्यक तह हटाउने।
  • जिल्ला–केन्द्र प्रत्यक्ष सम्बन्ध: संगठनलाई सरल र जवाफदेही बनाउने।
  • वडा/नगर इकाई सुदृढ: पार्टीको वास्तविक आधारलाई मजबुत बनाउने।

३. आन्तरिक निर्वाचन प्रणाली:

  • हरेक चार वर्षमा अनिवार्य निर्वाचन गर्नुपर्ने।
  • सभापति, महामन्त्री, विभाग प्रमुख लगायतका पदहरूमा प्रत्यक्ष सदस्य मतदान प्रणाली लागू गर्नुपर्ने।
  • भ्रष्टाचार, धाँधली र हस्तक्षेप रोक्न डिजिटल भोटिङ प्रणाली अपनाउनुपर्ने।

४. नीतिगत बहस र थिङ्क ट्याङ्क:

  • पार्टीभित्र ‘पोलिसी ककस’ निर्माण गरी वैचारिक बहसलाई संस्थागत गर्नुपर्ने।
  • प्रमुख नीतिहरू आन्तरिक मतदान र सार्वजनिक बहसमार्फत तय गर्नुपर्ने।

५. पारदर्शिता र जवाफदेहिता:

  • पार्टीले प्राप्त गर्ने चन्दा र फन्डिङ पूर्ण रूपमा अनलाइनमार्फत सार्वजनिक गर्नुपर्ने।
  • भ्रष्ट र अपराधीलाई सदस्यताबाट हटाउने शून्य सहनशीलता नीति लागू गर्नुपर्ने।
  • आम सदस्यलाई असफल प्रतिनिधिलाई फिर्ता बोलाउने ‘रिकल’ अधिकार दिनुपर्ने।

६. समावेशी प्रतिनिधित्व:

  • ४० वर्षमुनिका युवालाई कम्तीमा ५०% र महिलालाई न्यूनतम ४०% प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने।
  • विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिनुपर्ने।

७. सदस्यता प्रणाली सुधार:

  • नेताले वितरण गर्ने नभई डिजिटल एपमार्फत स्वतः सदस्यता दिने प्रणाली अपनाउनुपर्ने।

८. संरचनाको कार्यसमिति व्यवस्था:

  • बदलिँदो परिस्थितिमा सबै कार्यसमितिहरू ‘केयरटेकर’ हुनुपर्ने र सक्रिय कमिटीहरू अस्थायी वा तदर्थ हुनुपर्ने।

९. सर्वसाधारण मतदान:

  • कुनै पनि नेपाली नागरिकलाई कम्तिमा एकपटक पार्टी नेतृत्व छनोटमा मतदान गर्ने अधिकार दिनुपर्ने। यसले पार्टीभित्रको षड्यन्त्रमा बाह्य नियन्त्रण (चेक एण्ड ब्यालेन्स) कायम गर्ने।

१०. शून्य सहनशीलता नीति (कठोर प्रतिबद्धता):

  • भ्रष्टाचार, सामूहिक हत्या वा मानवता विरुद्धको अपराधमा संलग्न व्यक्तिलाई आजीवन सदस्यता निषेध गर्नुपर्ने।
  • अनुशासन र सत्यनिष्ठा सुनिश्चित गर्न ‘इथिक्स कमिटी’ गठन गर्नुपर्ने।

११. राष्ट्रिय सुरक्षा र अर्थनीति:

  • ‘गोर्खा परम्परा’ पुनर्जागरण गरी आत्मगौरव र सैनिक शक्ति पुनर्स्थापनामा जोड दिनुपर्ने।
  • मलेसियाको महाथिर मोडलबाट प्रेरित भई पूर्वाधार विकासमा लगानी गर्नुपर्ने।
  • उत्तर–दक्षिण ४/६/८ लेन महामार्ग निर्माणलाई दीर्घकालीन समृद्धिको आधार मान्नुपर्ने।
  • विदेशी बैंक र वित्तीय पहुँचलाई नियमनसहित खुला गर्नुपर्ने।
  • भारत, चीन, अमेरिका र पश्चिमा मुलुकसँग सन्तुलित र राष्ट्रिय स्वार्थमा आधारित विदेश नीति अपनाउनुपर्ने।

१२. युवा र आन्दोलनको मान्यता:

  • जेन-जी र जेन-अल्फालाई निर्णायक ठाउँमा राख्न नेतृत्व र प्रशिक्षण कार्यक्रम चलाउनुपर्ने।
  • सेप्टेम्बर आन्दोलनलाई औपचारिक मान्यता दिई त्यसका मागहरू पार्टी नीतिमा समावेश गर्नुपर्ने।