मुलुकको समृद्धिको लागि छिमेकी सन्तुलन

940
Shares

काठमाडौँ। 

जेन– जी आन्दोलन पछिको परिवर्तनलाई व्यवस्थापन गरी मुलुकलाई सुशासन सहितको समृद्ध बनाउन छिमेकी मुलुक चीन र भारतको सहयोग अपरिहार्य रहेको विदेश मामलाका जानकारहरुले बताएका छन् । 

फ्रेण्डस एन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले काठमाडौँमा आयोजना गरेको साझा भविष्यको लागि नेपाल– चीनसंगै विषयक छलफलका सहभागिहरुले छिमेकी मुलुकहरु बीच सन्तुलन कायम गर्न सकिएन भने जेन– जी आन्दोलन पछिको उपलब्धिलाई संस्थागत गर्न समस्या हुने कुरामा सतर्क रहनुपर्ने बताएका थिए ।

आयोजक फ्रेण्डस एन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष समाजसेवी शोभित उप्रेतीले नेपालका युवाहरुको आन्दोलन भ्रष्टाचार विरुद्ध केन्द्रीत रहेको उल्लेख गर्दै सुशीला कार्की नेतृत्वको सरकारले आन्तरीक एवम् बाह्रय शक्ति सन्तुलन मिलाएर युवाहरुको अभिमत अनुसार अघि बढ्नुपर्ने बताए ।

जेन– जी अभियानका अगुवा डा. निकोलस भुषालले जेन– जी आन्दोलन पछिको परिर्वतनलाई व्यवस्थापन गरी मुलुकको स्थिरता, शान्ति र विकासका लागि छिमेकी मुलुक चीन र भारतको सहयोग र सर्मथन लिएर अघि बढ्नुपर्ने बताए ।

विदेश मामिला विज्ञ डा. झमकुमार विश्वकर्माले युवाहरुको धक्काले देशमा परिर्वतन भएको उल्लेख गर्दै आन्दोलनको भावना अनुसार अघि बढ्न छिमेकी सहयोग आवश्यक हुने बताए । 

कार्यक्रममा द्वन्द्व विज्ञ डा. विष्णुराज उप्रेती, पूर्व राजदूत डा. विष्णुहरि नेपाल, वरिष्ठ कलाकार कृष्ण मल्ल लगायत विदेश मामलाका विज्ञ, राजनीतिज्ञ, समाजसेवी, पत्रकार, कलाकार, युवा अभियन्ताहरुको सहभागिता रहेको थियो ।