–दुई महिनाभित्र काठमाडौं उपत्यकाका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट
–पाँच महिनाभित्र सातवटै प्रदेशका १० वटा सहरमा निःशुल्क इन्टरनेट
काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले सोमबार थप चार जना मन्त्री थप्दै अन्तरिम मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । पहिलो चरणमा तीन जना मन्त्री नियुक्ति गरी काम सुरु गरेको सरकारले त्यसको एक सातापछि सोमबार चार मन्त्री थप गरेको हो । नवनियुक्त मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, तात्कालिक राज्य पुनर्संरचना आयोगका संयोजकसमेत रहेका कृषिविज्ञ मदन परियार, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र पत्रकार जगदीश खरेल हुनुहुन्छ ।
नयाँ थपिएका मन्त्रीहरूमा सिन्हालाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा उद्योग, वाणिज्य तथा आपूर्ति, पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, मदन परियारलाई कृषि तथा पशुपन्छी विकास र जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालको जिम्मेवारी दिइएको छ ।
कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गर्दै सोमबार अपराह्न नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभयो । नवनियुक्त मन्त्रीहरूले दौरा सुरुवाल कोट र एकै किसिमको कालो भादगाउँले टोपी लगाएर शपथ लिएका थिए । उनीहरूले सोमबार कार्यभार सम्हाले ।
६७ वर्षीय सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । उहाँले सर्वोच्च अदालतबाट दुई वर्षअघि अवकाश प्राप्त गर्नुभएको थियो । कर्पोरेट र वाणिज्य कानुनका ज्ञाता सिन्हाले सर्वोच्च अदालतमा रहँदा आफ्नो विधाका साथै संवैधानिक मामिलामा आफू ज्ञाता प्रमाणित गर्नुभएको थियो । लामो समय कानुन व्यवसायमा बिताएका सिन्हा आफ्नो पेसागत कार्यकालभर कर्पोरेट कानुनमा आफूलाई सक्रिय बनाइरहनुभएको थियो । सिन्हा संलग्न इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी विवाद, प्रतिनिधिसभाको पहिलो विघटन, कर फस्र्योट आयोगको बन्दीप्रत्यक्षीकरणसम्बन्धी विवाद निरुपण गरेको थियो ।
मन्त्रालयको पदभार ग्रहण गरेलगत्तै उहाँले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसै गरी सरकारी निकायमा फर्निचरलगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय गरिएको थियो । अत्यावश्यकबाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्नतर्फ पहल गर्ने उहाँको पहिलो निर्णय रहेको छ ।
त्यसै गरी शिक्षामन्त्री पुन वैज्ञानिक हुनहुन्छ । सरल जीवनशैली भएका पुन मन्त्रीमा सिफारिस हँुदै गर्दा पनि आविष्कार केन्द्रमा ग्यासबाट शव जलाउने भट्टी निर्माण भएको जानकारी गराउँदै हुनुहुन्थ्यो । दुई दिनअघि काठमाडौं आएका पुन आविष्कारका लागि आर्थिक स्रोत जुटाउन जिल्ला जिल्लामा किताब बेच्न हिडिँरहनुभएको थियो । आफ्नै पुस्तक महावीर पुन सम्झना, सपना र अविरल यात्रा बोकेर उहाँले ५२६ दिनमा ४५ वटा जिल्लामा २ लाख ४० हजार पुस्तक बेच्नुभएको थियो । कोरोना कालका पीपीई, फेससिल्ड, आइसोलेसन हुड, नर्सिङ रोबोट, स्वाब कलेक्सन बक्स, कोरोनाबाट मृतकको शव राख्ने बाकस पनि उहाँको केन्द्रले बनाएको थियो ।
पदभार ग्रहण गर्दै मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । अन्तरिक्ष प्रविधि, न्युक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ । समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको छ भने समितिमा रहने सदस्यहरूको नाम पछि टुंगो लगाइने छ ।
त्यसै गरी परियार पहिलो संविधानसभाकाताका गठित राज्य पुनःसंरचना आयोगका संयोजक हुनुहुन्छ । सन् १९९४ मा थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट वातावरण, स्रोत तथा विकास विषयमा डक्टर अफ इन्जिनियरिङको उपाधि हासिल गरेका परियार सोही संस्थाबाट सन् १९८९ मा मास्टर अफ इन्जिनियरिङको डिग्री लिनुभएको थियो । यसअघि सन् १९७३ मा भारतको इलाहाबाद एग्रिकल्चरल इन्स्टिच्युटबाट कृषि इन्जिनियरिङमा ब्याचलर अफ साइन्स र सन् १९६९ मा इन्टरमिडियट अफ साइन्स इन एग्रिकल्चर पूरा गर्नुभएको थियो । डा. परियारसँग नेपालसहित भारत, थाइल्यान्ड, श्रीलंकाका गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकायहरूमा ३० वर्षभन्दा बढीको कार्य अनुभव छ । विशेष गरी कृषि, ग्रामीण विकास, सामाजिक समावेशीकरण र जलवायु परिवर्तन क्षेत्रमा उहाँ गहिरो ज्ञान र अनुभव राख्नुहुन्छ ।
पदभार ग्रहण गर्दै उहाँले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्तावमा सदर गर्नुभयो । मन्त्रालयका सचिवको नेतृत्वमा गठन हुने समितिले यसमा समन्वयको काम गर्ने जनाइएको छ ।
सञ्चारकर्मी खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । इमेज टेलिभिजनमा खरेलले चलाउने ‘हट सिट’ नामक कार्यक्रम धेरैको रोजाइमा पर्छ । मन्त्री बन्नु अघिसम्म उहाँ इमेज च्यानलका समाचार प्रमुख हुनुहुन्थ्यो । उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गर्दै दुईवटा घोषणा गर्नुभयो । दुई महिनाभित्र काठमाडौं उपत्यकाका जुनसुकै सार्वजनिक स्थानमा गए पनि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ । त्यस्तै पाँच महिनाभित्र राजधानीसहित देशभरका सातवटै प्रदेशका १० वटा सहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेटको पहँुच हुनेछ ।
नेपालको संविधानअनुसार मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित २५ सदस्य हुन सक्छन् । यद्यपि, प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्रिपरिषद्मा ११ सदस्य हुने बताइसक्नुभएको छ । यसअनुसार अब प्रधानमन्त्री कार्कीले तीन जना मन्त्री थप्नुपर्ने छ । कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको नियुक्तिका लागि पनि नाम सिफारिस गरेको विवरण आइतबार आएको थियो । यद्यपि, नाम सिफारिस भएकी संगीता कौशल मिश्राबारे विवाद उत्पन्न भएपछि उहाँ मन्त्रिपरिषद्मा नपरेको बताइएको छ । मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिव हुनुहुन्थ्यो ।
प्रधानमन्त्री कार्कीले अझै नौवटा मन्त्रालयको जिम्मेवारी एक्लै सम्हालिरहनुभएको छ । ती मन्त्रालयहरू खानेपानी परराष्ट्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन् ।
यसअघि मन्त्रिपरिषद् विस्तार हँुदा तीन मन्त्री नियुक्त गरिएको थियो । परिवर्तित कार्यविभाजनअनुसार रामेश्वरप्रसाद खनाललाई अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात सहरी विकास र ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

देश र जनता बनाउने कुरा शिरमा : सञ्चारमन्त्री खरेल
काठमाडौं
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो कार्यकालमा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले देश र जनतलाई सधैं शिरमा राखी हिँड्ने वाचा गर्नुभयो ।
सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा मन्त्री खरेलले भन्नुभयो– ‘यो सरकारमा रहेका हामी जति पनि मन्त्रीहरू छौं, हामीले देश पहिला, जनता पहिला अनि मात्रै अरू कुरा आउँछ । देश र जनता बनाउने कुरामा अघि बढ्छौं ।’
मन्त्री खरेलले अब सरकारका सबै मन्त्रीहरू खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी जनसेवामा खट्ने बताउनुभयो । उहाँले नेपालको कर्मचारीतन्त्रलाई विश्वास गर्न सकिने देख्न रहर भएको स्पष्ट पार्दै कर्मचारीतन्त्र स्वतन्त्र भएको खण्डमा धेरै काम गर्न र उपलब्धि हासिल हुन सक्ने बताउनुभयो । ‘सचिवज्यू तपाईंको मन्त्रालयका सबै कर्मचारी अनुभवी हुनुहुन्छ । काम अघि बढाउनुस् । मन्त्रीको तर्फबाट एक ठाउँमा पनि हस्तक्षेप हुँदैन । म तपाईंबाट सिक्छु,’ मन्त्री खरेलले भन्नुभयो– ‘म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु । विश्वसनीय भएको हेर्न चाहन्छु, म हस्तक्षेप गर्दिनँ यो मेरो प्रतिबद्धता हो ।’











प्रतिक्रिया