यो वर्ष खसीबोकाको स्वास्थ्य परीक्षण नहुने


काठमाडौं।

काठमाडौं महानगरपालिकाले यो वर्ष खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण नहुने बताएको छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका बिक्री नगर्ने भएपछि कामपाले पनि स्वास्थ्य परीक्षण नगर्ने निर्णय गरेको हो । यसअघि कामपाले राजधानीको ५ बिक्री स्थलमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेको थियो ।

स्वास्थ्य परीक्षणपछि स्वस्थ्य चौपायाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाउने गरेको थियो । कामपा कृषि तथा पशुपंक्षी विभाग प्रमुख नुरनिधि न्यौपानेले राजधानीको कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको स्वास्थ्य परीक्षण गर्ने गरेको थियो ।

यो वर्ष जेन–जी आन्दोलनको कारण विषम परिस्थिति र कम्पनीले खसीबोका बिक्री स्थगित गरेको कारण यो वर्ष कामपाले परीक्षण नगर्ने निर्णय गरेको हो ।
गतवर्ष प्रदेश र संघ सरकार सहितको संयोजनमा पशुचिकित्सकसहितको टोलीले परीक्षण गरेको थियो । टोलीले काठमाडौं भित्रिने चौपायाको सिङमा हरियो रङ लगाएको चौपाया खान योग्य भएको सिफारिस गरेपछि मात्र खरिद गर्ने व्यवस्था कामपाले गरेको थियो ।