मन्त्रिपरिषद् विस्तार गरिँदै: पाँचजना मन्त्रीमा सिफारिस, सञ्चारमन्त्रीमा जगदीश खरेल


काठमाडौं।

प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न प्रबुद्ध वर्गलाई मन्त्रीमा नियुक्तिका लागि सिफारिस गर्नुभएको छ । उहाँले आइतबार पाँचजनालाई मन्त्रीमा सिफारिस गर्दै नियुक्ति र शपथका लागि राष्ट्रपति कार्यालयमा सूची पठाउनुभएको छ । राष्ट्रपति कार्यालयले सोमबार उहाँहरुलाई नियुक्ति र शपथ गराउने जनाएको छ ।


जसअनुसार प्रधानमन्त्री कार्कीले सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा वरिष्ठ युवा पत्रकार जगदीश खरेलको नाम नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख रहनुभएको थियो । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहनुभएका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री सिफारिस गर्नुभएको छ । उहाँलाई कानुन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


यसैगरी आइतबार नै डा. संगीता मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरिएको छ । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहनुभएकी मिश्राले आइतबार बिहान मात्रै सो पदबाट राजीनामा दिनुभएको थियो । यसैगरी प्रधानमन्त्री कार्कीले कृषि मन्त्रीमा मदन परियारलाई नियुक्तिको लागि सिफारिस गर्नुभएको छ ।

यसैगरी महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरिएको छ । पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुनुहुन्छ । नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पु¥याउने पहलका लागि उहाँले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गर्नुभएको थियो ।