भक्तपुर ।
नेपाल आयल निगम हवाइ इन्धन डिपो सिनामंगलका कर्मचारीहरूले सहिद र घाइते परिवारलाई नगद सहयोग गरेका छन् । डिपोका प्रमुख ई. प्रदीपकुमार यादव, उपनिर्देशक रामहरि निरौला, लेखाप्रमुख प्रचण्ड पाठकसहित सम्पूर्ण कर्मचारीहरूले अभियान नै चलाएर सहयोग गरेका हुन् ।
जेन–जी पुस्ताको आन्दोलनको क्रममा निधन भएका महेश बुढाथोकीको परिवारलाई १३ दिनको काममा बसेको स्थान चाँगुनारायण नगरपालिकाको दुवाकोटमा गई ३० हजार र अभिषेक चौलागाईंको परिवारलाई दुवाकोटस्थित निवासमा गई नगर १५ हजार ५ सय ५० रुपियाँ सहयोग गरिएको उपनिर्देशक रामहरि निरौलाले बताउनुभयो । कार्यक्रममा स्थानीयबासीसमेत रहनुभएका वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले विशेष समन्वय गर्नुभएको थियो ।
कर्मचारीहरूका तर्फबाट जेन–जी पुस्ताको आन्दोलनको क्रममा निधन भएका पाँच जनाको परिवार र घाइते सात जनालाई समेत आर्थिक सहयोग गरिएको छ । आन्दोलनका सहिद सुभाष बोहोरा, ओजन बुढा, दिपेश सुनुवारको प्रतिपरिवार २५ हजार रुपियाँको दरले सम्बन्धित परिवारलाई भेटी सहयोग गरिएको उपनिर्देशक निरौलाले बताउनुभयो ।
त्यसै गरी घाइते गुल्मी घर भई काठमाडौं बस्ने सुभाष अर्याल, कैलाली घर भई काठमाडौं बस्ने ऋषिकेश यादव, गोरखाका रोशन रेग्मी, रूकुम पश्चिमका जगदिश परियार, नुवाकोटका दिपेश नेपाली र काभ्रेपलान्चोक घर भई काठमाडौंमा रिक्सा चलाउँदै आएका कुमार दाहालसहित सबैलाई प्रतिव्यक्ति १५ हजारका दरले सहयोग गरिएको हवाई इन्धन डिपोका उपनिर्देशक निरौलाले बताउनुभयो ।
हवाई इन्धन डिपोका सम्पूर्ण कर्मचारीहरूले सहिद परिवारलाई १ लाख २० हजार ५ सय ५० रुपियाँ र घाइतेलाई १ लाख ५ हजार रुपियाँ गरी जम्मा २ लाख २५ हजार ५ सय ५० आर्थिक सहयोग गरेका हुन् । सहयोग हस्तान्तरण सहिद परिवारको घरमा पुगेर तथा घाइतेको उपचाररत स्थानमा पुगेको टोलीमार्फत गरिएको थियो ।











प्रतिक्रिया