–केन्द्रीय मुकामदेखि प्रमुख सहरहरूमा सुरक्षाको अभाव
काठमाडौं ।
जेन–जी आन्दोलनको नाममा भएको हिंसा, आगजनी र लुटपाटपछि मुलुक अस्तव्यस्त अवस्थामा पुगेको छ । सरकार परिवर्तनसँगै आमनागरिकले शान्ति र स्थायित्वको अपेक्षा राखेका थिए तर त्यो अपेक्षा पूरा हुने संकेत देखिएको छैन । बरु जेनजी पुस्तालाई प्रयोग गरेर मुलुकलाई झनै अराजकतातर्फ धकेलिएको र यसले मुलुकलाई कयौं वर्षपछि लगेको गुनासो समाजका विभिन्न वर्गले गरिरहेका छन् ।
अहिले राजधानी उपत्यकासहित मुलुकका मुख्य सहरमा सुरक्षाको अभाव, कानुनको शिथिलता र नागरिकमा बढ्दो भय मनोविज्ञान स्पष्ट देखिन्छ । समाजशास्त्रीदेखि राजनीतिक शास्त्री र सुरक्षाविद्हरूसम्मले मुलुकको भविष्यलाई गम्भीर संकटमा पार्ने खतराको चेतावनी दिइरहेका छन् ।
जेन–जी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र राज्य संरचनामाथि आक्रमणले नेपाली समाजलाई गहिरो घाउ दिएको छ । समाजशास्त्री डा. रमेश गौतम भन्नुहुन्छ– ‘नेपाली समाजमा अहिले असुरक्षा र निराशाको वातावरण छ । युवा पुस्ता रोजगारी, अवसर र भविष्य खोज्दै गर्दा उनीहरूकै नाम प्रयोग गरेर हिंसा गरिनु, त्यो पुस्ताको मनोबललाई तोड्ने काम हो । यस्तो अवस्थामा मुलुकले पचास वर्षअघिको कठिनाइ पुनः झेल्नुपर्ने खतरा बढेको छ । उहाँका अनुसार जेन–जी पुस्ताको निराशा र असुरक्षाले सामाजिक विखण्डनलाई बढाउनेछ । ग्रामीण भेगमा नयाँ पुस्ता सहरतर्फ पलायन हुने, सहरका शिक्षित युवा विदेश पलायन हुने क्रम अझै बढ्ने देखिन्छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकलाई उद्धृत गर्दै विज्ञहरूले चेतावनी दिएका छन् कि हालैका अशान्ति र अराजकतालाई देखेर कम्तीमा ३ हजार ५ सय युवा हरेक दिन विदेशिएका थिए भने अब यो संख्या अझै बढ्ने देखिन्छ । यो प्रवृत्ति बढ्दै गयो भने देशको उत्पादनशक्ति मात्र होइन, भविष्यको नेतृत्व पनि शून्य हुन सक्छ ।
अशान्तिपछि राजधानी उपत्यका सुरक्षाका दृष्टिले संवेदनशील बन्दै गएको छ । प्रहरी चौकीहरू जलेका छन्, सुरक्षाकर्मीको मनोबल खस्किएको छ र कानुन कार्यान्वयन गर्ने निकाय निरीहजस्तै बनेको छ । सुरक्षाविद् राजेन्द्र थापा क्षेत्री भन्नुहुन्छ– ‘देश अहिले कानुनविहीनताको चपेटामा छ । कुनै स्थानमा सानो घटना भयो भने पनि त्यसले ठूलो रूप लिन सक्छ र नियन्त्रण गर्न सक्ने संयन्त्र छैन । यो अवस्था लामो समय रह्यो भने नागरिकले राज्यप्रति विश्वास गुमाउँछन् र समाजमा अराजक तत्वको हात बलियो हुन्छ ।’
प्रहरी चौकीहरू जलेका छन्, सुरक्षाकर्मीको मनोबल खस्किएको छ र कानुन कार्यान्वयन गर्ने निकाय निरीहजस्तै बनेको छ ।
उहाँका अनुसार मुलुक जलिरहेको बेला केही समूहले विजय उत्सव मनाउनु, राज्य जित्यौं भन्ने सोच लिनु, नेपालको अस्तित्वलाई नै खतरामा पार्ने काम हो ।
राजनीतिक शास्त्री डा. किरण श्रेष्ठ भन्नुहुन्छ– ‘अहिले मुलुक असुरक्षाको मात्र संकटमा छैन, यो राजनीतिक शून्यताको पनि परिणाम हो । सरकार परिवर्तनमात्र समाधान होइन, बरु यो संक्रमणलाई व्यवस्थापन गर्ने दीर्घकालीन राजनीतिक समझदारी चाहिन्छ । तर, अहिलेसम्म त्यसतर्फको प्रयास देखिएको छैन ।’
उहाँका अनुसार मुलुकको भविष्य अझै टुंगोे लागेको छैन । यदि, राजनीतिक नेतृत्वले तत्काल स्पष्ट दिशानिर्देश दिन सकेन भने, अराजक समूहले राज्यको नियन्त्रणमा आफ्नो शक्ति देखाउन खोज्नेछ । यसले लोकतान्त्रिक अभ्यासलाई मात्र होइन, राष्ट्रिय अस्तित्वलाई पनि संकटमा पार्छ । काठमाडौं उपत्यकामा अहिले सर्वसाधारण सामान्य जीवनमा फर्कन सकेका छैनन् । यातायात, व्यापार र कार्यालय गतिविधि ठप्पजस्तै छन् । सानो घटनाले ठूलो स्वरूप लिन सक्ने डरले नागरिक सतर्कतापूर्वक हिँडिरहेका छन् ।
असनका व्यवसायी कृष्ण श्रेष्ठ भन्नुहुन्छ– ‘पसल खोल्दा पनि मनमा त्रास लिएर खोल्नुपर्ने अवस्था छ । कालिकोटदेखि काठमाडौंसम्म पुलिस चौकी जलेको देख्दा अब हामीलाई कसले बचाउँछ भन्ने प्रश्न मनमा खलिरहेको हुन्छ ।’ नागरिकले सुरक्षा संयन्त्र पुनः क्रियाशील बन्ने अपेक्षा गरेका छन् । तर, अहिलेसम्म सुरक्षाकर्मीले मनोबल पुनः उठाउन नसकेका कारण उनीहरू काममा फर्कन सक्ने अवस्था छैन ।
नेपालमा अशान्ति फैलिरहँदा विदेशमा रहेका नेपालीभाषी समूहले सामाजिक सञ्जालमार्फत मुलुकविरोधी प्रचार गरेको भन्दै आलोचना बढेको छ । विज्ञहरूले यसलाई मुलुकलाई ५० वर्ष पछाडि धकेल्ने खतराको संकेतका रूपमा लिएका छन् । समाजशास्त्री गौतम भन्नुहुन्छ– ‘विदेशमा बस्ने कतिपय नेपाली भाषी विदेशीले नेपालप्रति सकारात्मक योगदान गर्नुको सट्टा नकारात्मक प्रचार गर्न थालेका छन् । यसले राष्ट्रिय एकता र भावनामा ठेस पु¥याउँछ ।’
कानुन कार्यान्वयन गर्न नसक्दा अहिले राज्यप्रति अविश्वास बढेको छ । कानुन उल्लंघन गर्न पाइयो भने राज्य जितियो भन्ने मानसिकता फैलिएको छ । यो प्रवृत्तिले राज्यका निकायलाई निरन्तर कमजोर बनाउँदै लगेको छ । राजनीतिक शास्त्री श्रेष्ठ भन्नुहुन्छ– ‘राज्य कानुनको शासनमा फर्कन सकेन भने, अराजक समूहले आफू विजयी भएको दाबी गर्नेछ । यसले मुलुकलाई दीर्घकालीन द्वन्द्वतर्फ धकेल्ने छ ।’
जेन–जी आन्दोलनको नाममा भएको हिंसाले नेपाली समाजलाई गम्भीर संकटमा पारिसकेको छ । राजधानी उपत्यकादेखि ग्रामीण भेगसम्म असुरक्षा र भयको वातावरण छाएको छ । युवाको विदेश पलायनको सम्भावना, राज्य संयन्त्रको कमजोरी र अराजक समूहको सक्रियता, यी सबैले नेपाललाई अझ अन्धकारतर्फ धकेलिरहेका छन् ।
अहिले देशको आवश्यकता दीर्घकालीन राजनीतिक समझदारी, सुरक्षाको पुनःस्थापना र समाजमा आशा जगाउने नेतृत्व हो । अन्यथा, मुलुक खरानीबाट उठ्न नसक्ने र भविष्यको पुस्ता अझै निराशामा डुब्ने खतरा बढ्दै गएको छ ।











प्रतिक्रिया