काठमाडौँ।
इजरायलसँग युद्धरत् हमासको सैन्य शाखा अल–कस्साम ब्रिगेडले शनिवार सार्वजनिक गरेको ४८ जना बन्धकहरूको तस्बिरमा नेपाली विद्यार्थी विपिन जोशीको फोटो पनि समावेश छ ।
द जेरुसेलम पोस्टका अनुसार गाजा सहरमा इजरायली सेनाले स्थलगत आक्रमणलाई तीव्र पारिरहेको बेला हमासले इजरायलमाथि दबाब सिर्जना गर्न ‘बिदाइ तस्वीर’ भनेर ४८ जना बन्धकहरूको तस्बिर सार्वजनिक गरेको हो । विपिन जोशीको तस्बिर ३८औं नम्बरमा छ । हमासले दुई वर्षअघि अक्टोबर ७ मा इजरायलमा गरेको आतंककारी आक्रमणको क्रममा जोशीलाई पनि बन्धक बनाएको थियो । त्यसपछि जोशीको अवस्था हालसम्म पनि अज्ञात रहेको छ । हमासले बिदाई तस्बिर भनेर ४९ जना बन्धकको फोटो सार्वजनिक गरे तापनि ती बन्धकहरू जीवितै छन् वा छैनन् भन्ने खुलाइएको छैन ।
सार्वजनिक गरिएको तस्बिरमा सबै बन्धकहरूको क्याप्सनमा ‘रोन अराड’ लेखेर क्रम संख्या दिइएको छ । रोन अराड इजरायली वायुसेनाका नेभिगेटर थिए । सन् १९८६ मा अराडको एफ–४ फ्यान्टम विमानले दक्षिण लेबनानमाथि आक्रमण गर्ने क्रममा लक्षित क्षेत्रमा नपुग्दै बम विस्फोट भएर क्षतिग्रस्त भएको थियो । उनलाई लेबनानमा शिया लडाकु समूह अमलले बन्धक बनाएर पछि हिज्बुल्लाहलाई सुम्पेको थियो । अल जजिराका अनुसार सन् २०१६ मा इजरायलले उनको मृत्यु भएको बताए पनि उनको वास्तविक अवस्थाबारे कुनै प्रमाण भेटिएको छैन ।
यसअघि हमासले बिहीबार एक वक्तव्यमा जारी गरी भनेको थियो – ‘तपाईंका बन्धकहरू गाजा सहरका विभिन्न टोलहरूमा फैलिएका छन् । नेतन्याहुले हत्या गर्ने निर्णय गरेसम्म तिनीहरूको जीवनको कुनै ग्यारेन्टी छैन । यो अपराधपूर्ण आक्रमण सुरु भएपछि अब कुनै बन्धक, न जीवित न मृत, तपाईंले फिर्ता पाउनुहुने छैन ।’
यो वक्तव्य ‘हमासको सैन्य नेतृत्व’ नाममा सार्वजनिक भएको छ । यसअघि सबै वक्तव्य प्रवक्ता अबु ओबेइदाले गर्ने गरेकोमा अहिले हमासको सैन्य नेतृत्वको नाममा यो फोटो सार्वजनिक हुनुले ओबेइदाको हत्या भएको इजरायली अनुमानलाई थप बल पुगेको द जेरुसेलम पोस्टले जनाएको छ ।
यसैबीच, इजरायली सेनाको १६२औं डिभिजनले गाजा सहरमा स्थल कारबाहीलाई अझ तीव्र बनाएको छ भने सेनाको आक्रमणसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निवासअगाडि बन्धक परिवारहरूले आफ्ना आफन्तहरूलाई फिर्ता ल्याउन दबाब दिँदै प्रदर्शन गरेका छन् ।
इजरायलभित्र दबाब बढ्दै गएको बेला हामासले दिएको नयाँ धम्कीले संकटलाई थप गम्भीर बनाएको छ ।











प्रतिक्रिया