ललितपुर ।
नेपाली कांग्रेस ललितपुर महानगर समितिले पार्टीको आन्तरिक सुदृढीकरण र विश्वास पुनःस्थापनाका लागि विशेष महाधिवेशनको माग गरेको छ।समितिले एक विज्ञप्ती प्रकाशित गरी सो माग गरेको हो।समितिका सभापति शुभानन्द धाख्वाद्वारा हस्ताक्षरित सो विज्ञप्ती मार्फत सो माग गरी शीर्ष नेतृत्वलाई गम्भीर सन्देश दिएको छ ।
सभापति धाख्वाले हालको विषम राजनीतिक परिस्थिति र जनआक्रोशलाई सम्बोधन गर्दै पार्टीभित्र व्यापक संरचनात्मक सुधार आवश्यक भएको बताउनुभयो।धाख्वाले पार्टीको नेतृत्वलाई सम्बोधन गर्दै भन्नुभयो ‘ देश एक पटक पुनः परिवर्तनको मोडमा छ। ‘ यस्तो अवस्थामा पुरानै शैली र संरचनासहित अगाडि बढ्न खोज्नु आत्मघाती हुनेछ । विशेष महाधिवेशनको माध्यमबाट नया“ नेतृत्व चयन गरिनुपर्छ, जसले जनविश्वास पुनः प्राप्त गर्न सक्छ ।’ उहाँले भन्नुभयो।
सभापति धाख्वाले पार्टीको परम्परागत प्रतिनिधि प्रणालीलाई संशोधन गर्दै क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधिको पद हटाएर प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने जोड दिनुभयो। उहाँले भन्नुभयो ‘ सम्पूर्ण तहका सभापति तथा पदाधिकारीहरूलाई क्रियाशील सदस्यबाट प्रत्यक्ष रुपमा निर्वाचित गरौं।
यसले पारदर्शिता, जवाफदेहीता र सदस्यहरूको महत्व वृद्धि गर्नेछ ।’भदौ २३ र २४ गते सार्वजनिक भएको जनकारवाहीपछि कांग्रेस नेताहरूको घरबाट निस्किएका अकूत सम्पत्तिहरूप्रति चिन्ता व्यक्त गर्दै धाख्वाले ती विषयमा गम्भीर छानबिनको माग गर्नुभयो। उहाँले स्पष्ट रूपमा भन्नुभयो ‘ यदि कसैका घरबाट अकूत सम्पत्ति भेटिएको हो भने त्यसको निर्ममतापूर्वक छानबिन हुनु पर्छ। कांग्रेसले त्यसमा पूर्ण सहयोग गर्नुपर्छ र छानबिनको समयमा संलग्न नेताहरूलाई पदबाट निलम्बन गरिनुपर्छ । ‘ललितपुर महानगर समितिको यो प्रस्तावले पार्टीभित्र ठूलो तरंग सिर्जना गर्ने बुझिएको छ ।











प्रतिक्रिया