समयमै पहिचान भए ९० प्रतिशत मिर्गौला बचाउन सकिने अध्ययन


काठमाडौँ ।

वीर अस्पतालमा गरिएको अध्ययनले समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला रोग बचाउन सकिने देखाएको छ। ५ सय बिरामीमाथि गरिएको अध्ययनअनुसार ४७० जनाको मिर्गौला समयमै उपचार भए जोगाउन सकिने भए पनि जनचेतना अभावले नियमित जाँच नगर्दा गुमाउनुपरेको युरोसर्जरी विभाग प्रमुख प्रा.डा. रविनबहादुर बस्नेतले बताए।

अध्ययनमा ६५ प्रतिशतमा पत्थरी, १५ प्रतिशतमा जन्मजात समस्या, १० प्रतिशतमा क्यान्सर र चार प्रतिशतमा सङ्क्रमणका कारण मिर्गौला बिग्रिएको पाइएको छ। पुरुषको तुलनामा महिलामा डेढ गुणा बढी मिर्गौला बिग्रने समस्या देखिएको छ।

चिकित्सकहरुले पानी पर्याप्त पिउनु, मोटोपन घटाउनु, फलफूल खानु र नियमित जाँच गराउनु मिर्गौला जोगाउने उपाय भएको बताएका छन्।