पूर्व प्रधानमन्त्री ओली ब्यारेकबाट फर्किए

अब भाडाको घरमा बास


काठमाडौं ।

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको ब्यारेकबाट फिर्ता हुनुभएको छ । भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलन चर्किएपछि राजीनामा दिएर २४ गते दिउँसो सेनाको हेलिकप्टरमा ललितपुरको लेलेस्थित सैनिक ब्यारेक पुग्नुभएका ओली बिहीबार दिउँसो डेरा फर्कनुभएको हो ।

यसअघि निजी निवास बालकोटमा बस्दै आउनुभएका ओलीको घर आन्दोलनकारीले जलाएकाले उहाँ डेराको घरमा बस्न बाध्य हुनुभएको हो । अहिले ओलीका लागि भक्तपुरस्थित गुण्डुमा डेरा खोजिएको छ। सबै व्यवस्था भएपछि एमाले नेता कार्यकर्ताले उहाँलाई गुण्डु पु¥याएका हुन्।

‘उहाँ सैनिक ब्यारेकबाट बाहिर आउनु भयो। केही दिन उहाँ अब गुण्डु बस्नुहुन्छ’ एमाले नेता महेश बर्तौलाले भन्नुभयो । ओलीलाई भेट्न एमाले नेता र कार्यकर्ता त्यसतर्फ गएका थिए ।

भदौ २३ गते जेनजीले सामाजिक सञ्जाल खुला गर्न र भ्रष्टाचारविरुद्ध भन्दै काठमाडौँसहित देशभर प्रदर्शन गरेको थियो। उक्त दिनको प्रदर्शन हिंसात्मक भएको थियो। आन्दोलनपछि पनि राजीनामा नदिई आनाकानी गर्दै प्रहरी खटाएर पेल्ने रणनीति लिएका ओली २४ गते आन्दोलनकारीले बालुवाटार घेरेपछि सेनाको हेलिकप्टरमा भाग्न बाध्य हुनुभएको थियो ।

यसैबीच एमालेले आज संविधान दिवसको अवसरमा जेन–जी आन्दोलनकारीले ध्वस्त बनाएको पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम गर्ने जनाएको छ। उक्त कार्यक्रममा ओलीलाई सार्वजनिक गरिने नेता महेश बस्नेतले बताउनुभएको छ ।