काभ्रे ।
राजधानी उपत्यकामा भएको जेन–जी आन्दोलनको प्रभाव राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा पनि प¥यो । घटना भएको साता बितिसक्दासमेत क्षतिको यकिन विवरण संकलन हुन सकेको छैन । प्रहरी आफंै पुनःस्थापित भइसकेको छैन भने नागरिकहरूको मन र मस्तिक पनि नियमित हुन सकेका छैनन् ।
‘कहालीलाग्दो घटनाबाट बालबाल ज्यान बचेको छ’, सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले भने– ‘प्रहरी चौकीभित्रै राखेर आगजनी गरे । ढुंगामुढा गरे । आफू बच्न पनि कठिन भयो । प्रहरीले गर्नु पर्ने अरू सुरक्षाका बारेमा कसरी ध्यान दिन सक्नु ?’ इलाका प्रहरी कार्यालय बनेपामा तेश्रो पटक आगजनी भयो । प्रहरीका सबै बन्दोबस्तीका सामग्री, परीक्षाका उत्तरपुस्तिका तथा प्रश्नपत्रहरू, मुद्दाका फाइलहरू, हतियार तथा गोलीगठ्ठाहरू लुटिए ।
प्रहरी आफंै ज्यान जोगाउन मुस्किल परेका बेला उसले नागरिकहरूलाई कसरी दिन सक्छ सुरक्षा ? नागरिकहरू त्राहीत्राही भए । ‘भाद्र २४ गतेको कालरात्री सम्झन पनि सक्दिनँ’–पनौती नगरपालिकाका पूर्वनगर प्रमुख भीम न्यौपानेले भन्नुभयो– ‘आततायी समूहको जत्थाले एकसरो कपडासमेत निकाल्न नदिइकन आगजनी गरेर घर खरानी बनाए ।’
कहाँ कहाँ भयो आक्रमण ?
पनौतीमा कांग्रेस नेता शिवप्रसाद हुमागाईंको घरमा तोडफोड गरियो । पनौती नगर प्रमुख रामशरण भण्डारीको घरमा तोडफोड गरी सामान बाहिर निकालेर आगजनी गरियो । उपप्रमुख गीता बञ्जाराको घरमा आगलागी गरियो । त्यस्तै पूर्व प्रमुख भीमप्रसाद न्यौपानको घरमा आततायी जत्थाले आगजनी ग¥यो । वडा अध्यक्ष पुरुषोतम अधिकारीको घरमा पनि तोडफोड र लुटपाट ग¥यो । क्याप्टेन रामेश्वर थापाको घरमा आगजनी गरियो ।
त्यस्तै, धुलिखेलमा नगर प्रमुख अशोक ब्याञ्जुको घरमा आगजनी गरियो । नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय बनेपा र ट्राफिक प्रहरी कार्यालय आगजनीबाट ध्वस्त भएका छन् । प्रहरी कार्यालयहरूमा तोडफोड र ढुंगामुढा गरिएको छ । विस्थापित भएका १६ वटा प्रहरी चौकी पुनःस्थापित हुने क्रममा छन् ।
के गर्दै छ प्रहरी ?
प्रहरीले ध्वंसात्मक आन्दोलनमा संलग्नहरूको फोटो, भिडियो र सामाजिक सञ्जालमा प्रयोग गरिएका तस्बिरहरूको आधारमा ५ सयभन्दा धेरै व्यक्तिहरूको पहिचान भने गरिसकेको छ । पहिचानका आधारमा केहीलाई पक्राउ पनि गरिसकेको छ भने केहीलाई पक्राउ गर्ने क्रम शुरू गरेको छ ।
सार्वजनिक तथा व्यक्तिगतसम्पत्ति तोडफोडमा विभिन्न क्षेत्रका व्यक्तिहरू संलग्न भएको तस्बिर तथा भिडियो सार्वजनिक हुने क्रममा मालपोत कार्यालय काभ्रेमा लेखापढी व्यवसाय गर्दै आएका पनौती ३ कुशादेवी ओढारेका युवक अनिश सापकोटाको तस्बिर सार्वजनिक गरिएको छ । उनीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरेको अभियोगमा स्थानीयले प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।
त्यस्तै, पनौतीमा भएको ध्वंसात्मक आन्दोलनमा सक्रिय तथा उक्साहटमा संलग्नहरूको गोप्य विवरण पनि प्रहरीलाई बुझाइएको छ । बनेपा घर भएका पुण्य माविका शिक्षक विनोद पौड्याल, पनौती रास्वपा नगर सभापति विवेक भट्टराई, पनौतीकै सुदर्शन तिमल्सिनालगायतको नाममा उजुरी दर्ता भएको छ । धुलिखेलमा आगजनी र तोडफोड गर्ने तथा सामाजिक सञ्जालमार्फत उक्साउनेहरूविरुद्ध पनि उजुरी दर्ता भएको छ ।
घटनामा संलग्नहरूको पहिचान र उजुरी गर्ने क्रममा पहिलो चरणमा धुलिखेल ४ बस्दै आएका टिपर चालक महेन्द्र लामाको पहिचान भएको छ । त्यसअघि धुलिखेलमा मिसन धुलिखेल, धुलिखेल सरोकारजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने व्यक्तिहरूको पनि पहिचान गरिएको छ । धुलिखेल–९ का सुशील रानाभाट, धुलिखेल–३ का अजय लामा, धुलिखेल–८ का अनिल लामा, श्याम वाईवा विजय खड्गीलगायत समूहको नामावली तस्बिर र भिडियो सार्वजनिक गरिएको छ । ¥याम्पल स्याङतान, चन्द्र लामा, रूपेश श्रेष्ठ, रञ्जित लामा, पदम तिमल्सिना, एमआरपी निरोजलगायतको नाम सार्वजनिक भएको छ ।
नागरिकको मृत्यु हुनेहरूमा तेमाल–७ का ४२ वर्षीय दिलनारायण तामाङ, भुम्लु–४ का २७ वर्षीय सरोज खत्री, चांैरीदेउराली–६ घर का १९ वर्षीया निकिता गौतम रहेका छन् ।
क्षति भएका सरकारी संरचनाहरूमा कारागार कार्यालय, बनेपा नगरपालिका, पनौती नगरपालिका, इलाका प्रहरी कार्यालय, बनेपा, ट्राफिक प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पाँचखाल, पनौती, हिगुवापाटी, कुन्ताबेँसी र प्रहरी विटहरू रहेका छन् ।
त्यसै गरी नेकपा एमाले र नेपाली कांग्रेस पार्टी कार्यालय पनि क्षति भएका छन् । बनेपा–३ मा रहेको युलेन्स स्कुलमा पनि क्षति पुगेको छ ।











प्रतिक्रिया