काठमाडौं ।
प्रत्येक वर्ष सेप्टेम्बर १७ मा मनाइने विश्व बिरामी सुरक्षा दिवस यस वर्ष ‘सुरुदेखि नै बिरामीको सुरक्षा !’ भन्ने नाराका साथ मनाइयो । यस वर्षको मूल विषयवस्तु ‘प्रत्येक नवजात शिशु र प्रत्येक बच्चाको लागि सुरक्षित हेरचाह’ रहेको थियो ।
यस अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिण–पूर्वी एसियाकी प्रभारी अधिकृत डा. क्याथरिना बोहेमले असुरक्षित प्रसूति अभ्यास, खोप सुरक्षामा खाडल, कमजोर अक्सिजन थेरापी प्रोटोकल र निदानमा हुने ढिलाइलगायत जन्मदेखि बाल्यकालसम्मको उपचार र हेरचाहमा हुने त्रुटिहरूले बालबालिकाको जीवनमा गम्भीर चुनौती ल्याउने बताउनुभयो ।
विगत दशकमा दक्षिण–पूर्वी एसियामा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर घटाउन उल्लेखनीय सफलता हासिल भएको छ । यो क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्रगति गर्ने क्षेत्रमा परेको छ ।
तथापि, अझै पनि दैनिक १५ सयभन्दा बढी नवजात शिशुले आफ्नो पहिलो महिनामै ज्यान गुमाइरहेका छन्, जुन पाँच वर्षमुनिका कूल मृत्युदरको करिब ६० प्रतिशत हो ।विश्वभर प्रत्येक वर्ष २३ लाख नवजात शिशुको मृत्यु हुन्छ । तीमध्ये करिब १५ प्रतिशत मृत्यु सेप्सिसका कारण हुने गरेको तथ्यांक छ । दक्षिण एसियामा मात्रै प्रति १ हजार जीवित जन्ममा औसत १५.८ नवजात शिशु सेप्सिस देखिन्छ, जसको केस मृत्युदर ३४ प्रतिशत रहेको छ ।
ल्यान्सेट आयोगको अध्ययनअनुसार गुणस्तरीय, सुरक्षित र सरसफाइपूर्ण स्वास्थ्य हेरचाह उपलब्ध भए ६० प्रतिशतसम्म नवजात मृत्यु रोक्न सकिनेछ ।डा. बोहेमका अनुसार डब्लूएचओले सदस्य राष्ट्र, साझेदार र समुदायसँग मिलेर नवजात शिशु र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न थुप्रै कार्यक्रम अघि बढाएको छ । उहाँले बालबालिकालाई उनीहरूको उमेर, तौल, विकास चरण र आवश्यकताअनुसार फरक प्रकारको सुरक्षित हेरचाह आवश्यक हुने बताउनुभयो ।
कुनै पनि बालबालिका उपचारकै क्रममा हानि भोग्न नपरोस् भनेर नवजात शिशु र बालबालिकाको जीवनको सुरुदेखि नै गुणस्तरीय र सुरक्षित हेरचाह सुनिश्चित गर्नुुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो– ‘यसमा सबै सरोकारवालाको साझा प्रतिबद्धता अपरिहार्य छ ।’विश्व बिरामी सुरक्षा दिवस २०२५ को अवसरमा स्वास्थ्य विज्ञहरूले बालबालिकाको जीवनरक्षा र सुरक्षा केवल चिकित्सक वा स्वास्थ्य संस्थामात्र होइन, नीति निर्माता, परिवार र सम्पूर्ण समाजको साझा दायित्व भएको सन्देश दिएका छन् ।











प्रतिक्रिया