लिग नभए खेलाडी विदेश पलायन हुने पक्का

चर्चित ६ दर्जन खेलाडी पहिल्यै विदेश पलायन

470
Shares

काठमाडौं ।

गत साता भएको जेन–जी आन्दोलनले गर्दा नेपाली खेलकुद क्षेत्रमा पनि ठूलो असर परेको छ । आन्दोलनपछि देशमा ठूलो राजनीतिक परिवर्तन भयो पनि । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्यो भने नयाँ सरकार जेन–जीको समर्थनमा बनिसकेको छ । सरकार बनेर सबैतिर चहलपहल बढे पनि नेपाली खेलकुद भने ठप्प रहेको छ ।

जेन–जी आन्दोलनका कारण फुटबलतर्फका चलिरहेको एन्फा यू–१६ युथ लिग स्थगित गर्नु परेको छ । यस्तै, एन्फा महिला राष्ट्रिय लिग छनोट स्थगित गरिएको छ । यसै गरी अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन लिग क्लबहरूबीच हुने भनिएको भदौ ३१ को बैठक पनि अर्को सूचना नआउन्जेलको लागि स्थगित गरिएको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई काठमाडौंबाहिर भएकाले बैठक स्थगित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अध्यक्ष र महासचिव बाहिरी जिल्लामा हुनुभएकाले बैठक स्थगित भएको हो । अहिले खेलकुदलगायत सबै क्षेत्रमा असर गरेकाले अवस्था सामान्य भएपछि फुटबल गतिविधि सुरु गरिनेछ ।’

यसले गर्दा ‘ए’ डिभिजन लिगको नयाँ सिजनको प्रतियोगिता हुनेमा अन्योलता थपेको छ । पछिल्लो पटक ‘ए’ डिभिजन लिग २०७९–०८० सिजनमा सम्पन्न भएको थियो । आन्दोलन नभएको बेलासम्म पनि अर्को संस्करणको लिग सञ्चालन गर्न सकिएको छैन । लिग नभएको लगभग ३ वर्ष भएको छ । यदि, समयमै लिग आयोजना गर्ने बानी भएको भए यो तीन वर्षभित्र दुई लिग सञ्चालनमा ल्याउन सकिन्छ ।

यो वर्षको सुरुआतमै एन्फाले ‘ए’ डिभिजन लिग आगामी पुस ९ गतेदेखि आयोजन गर्ने लक्ष्य राखेको हो । यसपटक ‘होम एन्ड अवे’को नयाँ ढाँचामा ‘ए’ डिभिजन लिग गर्ने एन्फाको योजना रहेको छ । तर, क्लबहरूले एन्फाको यो नयाँ ढाँचामा खेल्न नसकिने बताएपछि लिग हुनेमा अन्योल भएको हो । देशले काँचुली फेरेर पनि लिग गर्ने माहोल बनेन भने अझै खेलाडीहरू विदेशतिर लाग्ने पक्का छ ।

अब त एउटा बहाना पनि भएको छ कि देशमा खेल्ने वातावरण मिल्न सकेको छैन । नयाँ सरकार आए पनि एन्फा र ‘ए’ डिभिजन लिग क्लबबीच कुनै सम्झौता हुन सकेको छैन । बल्लतल्ल ‘बी’ डिभिजन लिग सम्पन्न गरेको एन्फाले ‘ए’ डिभिजन लिग यही बेला गर्ने भनेर तोकेर भन्न सकिरहेको छैन ।

केही दिन अघिमात्र पनि नेपालका चर्चित फुटबलर अञ्जन विष्टले नेपालमा लिग नभएकाले बंगलादेशमा खेल्न जानु परेको दुःखद् कथा सुनाउनुभयो । अञ्जन अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सूचीमा हरि खड्का र निराजन रायमाझीसँगै शीर्ष स्थानमा हुनुहुन्छ । उहाँ तीनै जनाले समान १३–१३ अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ ।

यदि, एन्फाले यस वर्ष कुनै प्रतियोगिता गर्न नसकेमा अहिले बचे खुचेका फुटबलरहरू पनि विदेशतिर जान तयार हुनेछन् । नेपालका चर्चित खेलाडी विदेश लागेको सूची झण्डै ६ दर्जनभन्दा बढी भइसकेको छ । चर्चित खेलाडी नहुँदा नै गत शनिवार भाद्र २१ गते खेलाइएको अन्तर्राष्ट्रिय मैत्री खेलमा खेल हेर्ने दर्शक सामान्य थियो । बंगलादेश र नेपालबीच खेलिएको सो खेल हेर्न करिब ५ हजार दर्शक थिए ।

यसअघि चर्चित खेलाडी हुँदा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल भएमा रंगशाला नै भरिने गथ्र्यो । एन्फाका प्रवक्ता सुरेश शाहले दर्शक नआउनुको कारण देशमा सामाजिक सञ्जाल बन्द हुने बताउनुभएको थियो । सामाजिक सञ्जाल बन्द भएकाले खेलको राम्ररी प्रवद्र्धन नभएको उहाँले बताउनुभयो । साथै खेलमा चर्चित अनुहार नहुनु पनि दर्शक नआउनुको प्रमुख कारण रहेको उहाँले बताउनुभयो ।