काभ्रे।
जेनजीका नाममा भएको आन्दोलनमा विध्वंस मच्चाउँदै चोरी र लुटपाट गर्ने आततायी समूहको पहिचान गरी तत्काल कारबाही गर्न र घोषित मितिमा निर्वाचन गराई मुलुकलाई प्रजातान्त्रिक बाटोमा अघि बढाउन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद शिवप्रसाद हुमागाईंले सरकारसँग अनुरोध गरेका छन् । घरमा नै आयोजित पत्रकार सम्मेलनमा नेता हुमागाईंले घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने मृतकहरु पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै भौतिक क्षति प्रति निन्दा गरेका छन् ।

आन्दोलनकारीका नाममा आततायी समूहले पनौतीमा हुमागाईंको घरमा तोडफोड गरेका थिए । परिवारका सदस्यसँग घर भित्रै रहेका बखत तोडफोड र ढुंगामुढापछि उनलाई नेपाली सेनाले सुरक्षा दिँदै सुरक्षित स्थानमा पु¥याएको थियो । हुमागाईँको घर तोडफोड गरी परिसरमा रहेको गाडी र मोटरसाईकल घिसार्दै बसपार्क पु¥याएर आगजनी गरेका थिए ।

तोडफोडपछि गाडीमा आगजनी गर्ने पनौती नगर कमिटी रास्वपाका सभापति विवेक भट्टराईको पहिचान भएको हुमागाईंले बताए । अन्यको पनि पहिचान भएको र उनीहरुका विरुद्ध कानुनी कारवाहीका लागि तयारी गरिएको पत्रकार सम्मेलनमा हुमागाईंले जानकारी दिए । ‘म जेनजीका मागहरु पूरा गर्न सरकारसँग अपिल गर्दछु । उनीहरुका जायज माग सम्बोधन गरिनु पर्छ । तर त्यसकै आडमा गरिएको क्रूर अपराध र पाशविक घटनाको घोर भर्त्सना गर्दछु’–नेता हुमागाईंले भने–‘काभ्रेको पनौतीमा नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, पूर्व प्रमुख भीम न्यौपाने, वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, व्यवसायी रामेश्वर थापा, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुको निजी निवास तथा बनेपा नगरपालिका सहितका संरचनामा क्षति पुगेको छ । तत्काल संलग्नलाई कारबाही गर्न प्रशासनलाई आग्रह गर्दछु ।’

जनताका निराशा सम्बोधन गर्न अनुरोध गर्दै नेता हुमागाईंले गल्ती गरेको भए त्यसको प्रायश्चित गर्न दलहरु तयार भएको बताए । निरन्तर लोकतन्त्र र नागरिकको अधिकार प्रति सदैव सक्रिय हुने उनले बताए ।











प्रतिक्रिया