कोटेश्वरको भाटभटेनीमा पनि फेला पर्‍यो जलेको शव


काठमाडौँ।

काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ। बुधबार बिहान साढे ९ बजेतिर काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली छन्।

पोष्टमर्टमको लागि उक्त शव टिचिङ अस्पताल लगिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार मृतकको शव पहिचान गर्न नसकिने अवस्थामा थियो। नजिकै सिम समेत फेला परेको थियो। उक्त सिम हेर्दा विकास रसाइलीको रहेको खुलेको हो।

त्यस्तै मृतकका परिवारले पनि विकास हराइरहेको जानकारी प्रहरीलाई गराएका थिए।

यसअघि काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव अ फेला परेका थिए।

योसँगै जेनजी मृतकको संख्या ७४ पुगेको छ।