–प्रहरीको सन्देश– जनताको सम्पत्ति जनताले नै बचाउनुपर्छ । अपराधी देखे जानकारी दिनुहोस्
काठमाडौं ।
भदौ २४ गतेको दिन जेन–जी आन्दोलनका नाममा शान्तिपूर्ण प्रदर्शनलाई आड बनाउँदै राजधानीसहित देशका विभिन्न स्थानमा भएको आगजनी र लुटपाटले ठूलो जनधनको क्षति भएपछि त्यसमा संलग्न रहेका विध्वंशकारी तथा लुटेराहरूको खोजीलाई प्रहरीले तीव्र बनाएको छ ।
आन्दोलनका क्रममा संलग्न व्यक्तिहरूको फोटो सार्वजनिक गर्दै प्रहरीले उनीहरूबारे सूचना उपलब्ध गराइदिन आम नागरिकसँग आग्रह गरेको छ ।
भदौ २४ गतेको दिन ‘जेन–जी आन्दोलन’का नाममा सुरु भएको प्रदर्शन शान्तिपूर्ण सीमाभन्दा बाहिर गई राजधानीसहित देशभर अराजकतामा परिणत भएको थियो । सरकारी र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट हुँदा खर्बौं मूल्य बराबरको क्षति भएको छ ।
अहिले ती घटनामा संलग्न लुटपाट गर्ने समूहको खोजीलाई नेपाल प्रहरीले तीव्र पारेको छ ।आन्दोलनमा संलग्न व्यक्तिहरूको तस्बिर सार्वजनिक गर्दै प्रहरीले आम नागरिकसँग सूचना दिन आग्रह गरेको छ । प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले संलग्न व्यक्तिहरूको फोटो, भिडियो वा गतिविधिबारे कुनै जानकारी भए तुरुन्तै नजिकैको प्रहरी निकायलाई बुझाउन अनुरोध गर्नुभएको छ ।
उहाँले भन्नुभयो– ‘यी तस्बिरमा देखिएका व्यक्तिहरू कुन क्षेत्रमा बस्छन्, हाल कहाँ छन् भन्ने जानकारी पाउन सके तत्काल अनुसन्धानमा ठूलो मद्दत पुग्नेछ । भेटेपछि कुटपिट नगरी प्रहरीलाई बुझाइदिनुहोस् ।’ प्रहरीका अनुसार राजधानीलगायत देशका प्रमुख सरकारी कार्यालय भएको स्थानदेखि ग्रामीण भेगमा रहेका सरकारी संरचनादेखि निजी व्यवसायसम्म ठूलो क्षति भएको छ ।
सरकारी कार्यालयका कागजातदेखि कम्प्युटर, निजी पसलका नगद, गहना, मोबाइल फोन र अन्य सामग्री लुटिएको विवरण विभिन्न प्रहरी युनिटले संकलन गरी केन्द्रमा पठाइरहेका छन् । प्रारम्भिक अनुमानअनुसार उपत्यकाभित्र मात्र अर्बांै रुपियाँ बराबरको सम्पत्ति नष्ट भएको छ । भदौ २४ यताको धरपकड अभियानमा हालसम्म देशभरबाट ५ सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ । उपत्यकामा संलग्नहरू बढी भए पनि कतिपय जिल्ला बाहिर लुकेकाहरूलाई समेत पक्राउ गरिएको छ ।
डीआईजी घिमिरेका अनुसार संलग्न व्यक्तिहरूको फोटो हरेक प्रहरी कार्यालयमा पठाइसकिएको छ । प्रहरी अहिले अनुहार पहिचान प्रविधि, मोबाइल लोकेसन ट्रयाकिङ, सीसीटीभी फुटेज र भीड व्यवस्थापन क्यामेरामा कैद भएका दृश्यको सहायताले पहिचानमा जुटिरहेको छ ।
प्रहरीले आन्दोलनमा संलग्न कैयौं युवाले आफैंले सामाजिक सञ्जालमा पोस्ट गरेका फोटो र भिडियो अनुसन्धानको मुख्य आधार बनेको जनाएको छ । यस्ता सामग्रीलाई प्राविधिक विश्लेषण गरी अभियुक्त पहिचानमा प्रयोग भइरहेको छ ।
नागरिकलाई प्रहरीको अपिल
प्रहरीले अपराधीलाई देख्दा स्वयं कुटपिट नगरी नजिकैको प्रहरी कार्यालय वा मोबाइल गस्तीमा बुझाउन आग्रह गरेको छ । साथै, संलग्नलाई लुकाउने वा सहयोग गर्नेहरू कानुनबमोजिम कडा कारबाहीमा पर्ने चेतावनी पनि दिएको छ । घटनापछि उपत्यकाका संवेदनशील क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । राति अबेरसम्म चेकपोइन्टहरूमा तलासी बढाइएको छ । प्रहरी स्रोतका अनुसार कैयौं संलग्न व्यक्ति अझै फरार छन् र खोजी जारी छ ।
भदौ २४ को आन्दोलन राजनीतिक असन्तुष्टि वा युवा असन्तोषमात्र होइन, राजधानीलाई नै अराजक बनाउने गरी लुटपाट र आगजनीमा परिणत हुन पुगेको थियो । खर्बौंको क्षति व्यहोरेपछि सुरक्षा निकाय पूर्णरूपमा अनुसन्धानमा जुटेको छ । प्रहरीको सन्देश स्पष्ट छ– जनताको सम्पत्ति जनताले नै बचाउनुपर्छ । अपराधी देखे, जानकारी दिनुहोस् ।











प्रतिक्रिया